६ घण्टा अघि
२0८२ जेष्ठ २५ शनिबारउदयपुर, जेठ २४ नेपाल पत्रकार महासङ्घ उदयपुरले जिल्लाका पत्रकारहरुका लागि आचारसंहिता कार्यशाला सुरु गरेको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा शनिबारदेखि सुरु ‘पत्रकार आचासंहिता तथा क्षमता अभिबृद्धि कार्यशाला’को उद्घाटन त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा गरे ।
१ नं. प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित कार्यशालामा मेयर बस्नेतले पत्रकार महासङ्घले स्थापना गर्ने अक्षय कोषमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पत्रकारको हकहितका निम्ति स्थापना गर्न लागेको अक्षय कोषमा नगरपालिकाले सक्दो सहयोग गर्ने बचन दिए । महासङ्घले स्थापना गर्न लागेको १ करोड रुपैँयाको अक्षय कोष खोल्न थालेको अभियानमा त्रियुगा नगरपालिका प्रतिबद्ध रहेको र निकट भविष्यमा आउन लागेको आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रममा सो कुरा समावेश गर्ने प्रतिबद्धता बस्नेतको थियो ।
‘पत्रकार महासङ्घको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने दायित्व स्थानीय सरकारको पनि भएको भन्दै बस्नेतले नगरपालिकाले अक्षय कोष खोल्न स्रोत साधनले भ्याएसम्म सहयोग गर्नेछ’ मेयर बस्नेतले भने त्यसका लागि छ्टिटै प्रस्तुत हुने आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा स्रोतले भ्याएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले पत्रकारितामा पछिल्लो समय वेतिथि, विकृति र विसङ्गती बढ्दै गएको र पत्रकार आचरण विपरित गतिविधिसमेत हुने गरेको गुनासो गर्दै त्यस्ता गतिविधिप्रति महासङ्घ गम्भीर भएर लाग्न सुझाए ।
मेयर बस्नेतले स्थानीय सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र गल्ती कमजोरीको खबरदारी गर्नका लागि पत्रकारलाई आग्रहसमेत गरे । स्थानीय सरकारका कामकारबाहीप्रति चनाखो भएर पत्रकारहरुले आफ्नो सञ्चार माध्यममार्फत नगरबासीलाई जानकारी गराउन आग्रह गर्दै मेयर बस्नेतले नराम्रो कामको खबरदारी नगर्ने हो भने सरकार निरङ्कुश हुने बताए । त्यसैले पत्रकारहरुले सरकारप्रति ‘वाच डग’को भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
नगरउपप्रमुख महेश्वरी राईले पत्रकारहरुको वृत्ति विकासका लागि महासङ्घले अघि सारेको कार्यक्रममा त्रियुगा नगरपालिका सँधै सकारात्मक रहेको बताउँदै अक्षय कोष स्थापना गर्न सक्दो सहयोग गर्ने बताईन् । पत्रकार अक्षय कोष स्थापनामा सहयोग गर्ने मेयर बस्नेतको प्रतिबद्धताप्रति ऐक्यबद्धता जनाउँदै उपमेयर राईले स्थानीय पत्रकारहरुले पछिल्लो प्रविधिको प्रयोग गर्दै स्थानीय सरकारले गरेका सकारात्मक र नकारात्मक कामको नगरबासी समक्ष उजागर गर्नुपर्नेमा जोड दिईन् ।
महासङ्घ १ नं प्रदेश समिति अध्यक्ष भरत खड्काले महासङ्घ पत्रकारहरुको क्षमता विकास र स्वरोजगारमुलक स्थानीय सञ्चार सँस्थाहरुको प्रबद्र्धनका लागि काम गरिरहेको बताए । कार्यक्रममा शाखा उपाध्यक्ष विश्वराज तामाङले पत्रकार महासङ्घ उदयपुरले आफ्नो सँस्थागत विकास, पत्रकारको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा र व्यवसायीक विकास गर्दै स्वरोजगारमुक स्थानीय सञ्चार सँस्थाहरुको प्रबद्र्धन गर्ने काममा लागिरहेको बताए ।
वरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकार आचासंहिता विषयमा सहजीकरण गरेका कार्यशालामा जिल्लाका ८० भन्दा बढी स्थानीय पत्रकारको सहभागिता रहेको थियो । कार्यशालामा आमसञ्चारका प्राध्यापक डा. विजय मिश्रले खोज पत्रकारिताको विधि तथा एआईसम्बन्धी जानकारी गराका थिए । आईतबारसम्म सञ्चालन हुने दुईदिने कार्यशालामा पत्रकार महासङ्घको साधारण सदस्यता नविकरण र आचासंहिता लगायत विषयमा जानकारी दिइने महासङ्घका सचिव तुलसी कोइरालाले बताए ।
पत्रकारहरुको हकहित र वृद्धि विकासको लागि पत्रकार महासङ्घले यस्ता खाले विभिन्न कार्यक्रमहरु चरणचरणमा गर्दै आएको छ । महासङ् उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै लाने योजना सुनाए । अध्यक्ष पोखरेलले चालु आर्थिकवर्षभित्रै उदयपुरमा क्रियाशिल पत्रकारलाई एआईसम्बन्धी आधारभुत तालिम गराउने र पत्रकारितामा लाग्ने अभिरुची भएका नयाँ पुस्तालाई आधारभुत पत्रकारिता तालिम दिन लागेको पनि अध्यक्ष पोखरेलले जानकारी दिए् ।