४ घण्टा अघि
२0८२ जेष्ठ २६ आईतवारउदयपुर, जेठ २५
सरकारले त्रियुगा नदी नियन्त्रण व्यवस्थापन आयोजना कार्यालय उदयपुरबाट उठाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार आउँदो असारपछि आयोजना कार्यालय उदयपुरमा नरहने गरी खारेज गरेको हो ।
सदियौँदेखि त्रियुगा नदीले कटान र डुबानको पीडामा पार्दै आएका त्रियुगाको शीरदेखि तीरसम्म दुवै किनारबाट बाँध बाँधेर जिल्लाबासीलाई बँचाउने उदेश्यका साथ स्थापना भएको आयोजना कार्यालय आधा पनि काम नभई खारेजीमा परेको हो ।
नदीको शीर (क्षति गर्न सक्ने विन्दु) त्रियुगा नगरपालिका ७ चिसापानीदेखि सप्त नदीमा मिसिने विन्दुसम्मको ४२.५ किलोमिटर दूरीमा दायाँ बायाँ दुवै किनारमा जैविक प्रविधिमा बाँध बाँध्ने काम आयोजनाले गर्दैछ । दुवै किनारमा बाँध बाँध्ने, त्यसमाथि सडक बनाउने र ठाउँठाउँमा २७ वटा पुल बनाएर सडक, पुलसमेत निर्माण गरी नदीको दीगो व्यवस्थापन गर्ने काम आयोजना कार्यालयले गर्दै आएको छ ।
आर्थिकवर्ष ०६८÷७९ सालमा स्थापना भएको आयोजना कार्यालय सुरुमा सप्तरीको खाँडो नदी व्यवस्थापन आयोजना कार्यालयबाटै काम हुँदै आएको थियो । तर, टाढा भएकाले झन्झटिलो भएको भन्दै उदयपुरमै स्थापना गर्न चर्को दबावपछि जिल्लाको ०७६÷७७ देखि चौदण्डीगढी नगरपालिका ५ मा कार्यालय स्थपना गरी सञ्चालन भईरहेको छ ।
कार्यालय प्रमुख (डिई) राजेन्द्रप्रसाद देवले आउँदो असारपछि उदयपुरमा कार्यालय नरहने परिपत्र आएको बताए । उनका अनुसार हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको र ७० प्रतिशत बाँकी नै रहेको बेला कार्यालय खारेजीको निर्णय भएको हो । डिई देवका अनुसार कार्यालयको कामकाज साउनदेखि विराटनगरबाट हुने गरी खारेज भएको हो ।
सप्तरीबाट नियमन हुँदा बाँध निर्माणको अनुगमन र नियमन गर्न टाढा भएर गुणस्तरीय काम हुन नसक्ेको गुनासो बढेपछि जिल्लामै स्थापना भएर काम गर्दै आएका बेला कार्यालय खारेज गर्ने निर्णय अवैज्ञानिक र जनविरोधी भएको जिल्लाबासीको गुनासो छ । यस्तो गलत निर्णयको सरकाले पुनरावलोकन गर्न माग गर्दै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज सरोकारवालाहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरिरहेका छन् ।
यसैबीच पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग पनि खरोज गर्ने निर्णय सरकारले गरेको छ । दुईमहिनाअघिको मन्त्रीपरिषद बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । अहिले पछिल्लो मन्त्रि परिषद बै७कले उद्योग नै खारेज गर्ने निर्णय गरेको कुरा भर्खर सार्वजनिक भएको हो ।