३ घण्टा अघि
२0८२ जेष्ठ २६ आईतवारलिमचुङबुङ, जेठ २५
जिल्लाको बिकट गाउँपालिका लिमचुङबुङका हरेक वडामा पशुपन्छी सचेतनासम्बन्धी घुम्ती शिविर चलिरहेको छ । कृषकहरुलाई घर पायक पर्ने ठाउँमै कृषि प्राविधिक टोली खटाएर पशुपन्छीको स्वास्थ्यबारे जानकारी गराउने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।
पशुपन्छीमा लाग्ने कुनै पनि रोग व्याध तथा स्वास्थ्य समस्याको उपचार विधिबारे जानकारी गराउँदै व्यवसायिक पशुपन्छी पालनमा लाग्न किसानलाई प्रेरित गर्ने योजना अनुरुप वडास्तरीय घुम्ती शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक गृष्म राईका अनुसार जेठ २२ गतेदेखि सुरु शिविर २६ गतेसम्म सञ्चालन गरिनेछ ।
‘निःशूल्क पशुपन्छी सचेतना तथा स्वास्थ्य घुम्ती शिविर’को सुरुवात २२ गते पहिलो दिन २ नं. वडा कार्यालय तामलिछामा आयोजना गरियो । त्यहाँ ८३ घरधुरी कृषकले सेवा पाएको राईले बताए । त्यस्तै दोस्रो दिन १ नं. वडा बाँसबोटेको डुम्रे डाँडामा आयोजित शिविरबाट ६१ घर कृषक परिवार लाभान्वित भएका छन् ।
तेस्रो दिन ४ नं. वडा बलम्ताको नयाँ स्वास्थ्य भवनमा सम्पन्न शिविरमा ६२ घरधुरी कृषकले पशुपन्छी स्वास्थ्यसम्बन्धी परामर्श सेवा पाएका छन् । अन्तिम दिनको शिविर वडा नं. ५ जाँतेस्थित वडा कार्यालय परिसरमा आयोजना गर्ने तयारी भईरहेको छ । गाउँपालिका कृषि शाखा प्रमुख मानबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार पशुतर्फ भैँसी, गाई, बाख्रा, सुङ्गुर, कुकुर, बिरालो तथा पन्छीतर्पm, कुखुरा, परेवा, हाँसलगायत पशु चौपायालाई लाग्नसक्ने संभावित रोग र त्यसको उपचार विधिबारे शिविरमा कृषकलाई जानकारी गराउने गरिएको छ । त्यस्तै पशु बन्ध्याकरण, प्रजनन, गर्भवति पशुको प्रसुती गराउने, नवजात पशुको सुरक्षा र स्याहार सुसार गर्ने तथा कुकुर विरालाले टोकेमा रेबिज सुई हान्ने तरिका र आवश्यक्ताबारे पनि पशु प्राविधिकहरुले कृषकलाई जानकारी दिने गरेका छन् ।
कृषकका बिरामी पशुपन्छीलाई शिविरस्थलमै चिरफार (शल्यक्रिया)सम्मको उपचार सेवा पनि दिइएको छ । साथै आवश्यक औषधि पनि निःशूल्क वितरण गराइदै गरेको श्रेष्ठले बताए ।
गाउँपालिकाले गाउँसभाबाट पारित चालु आर्थिकवर्षको स्वीकृत योजना अनुसार शिविर सञ्चालन गरेको जनाएको छ । ५ वटै वडामा सञ्चालित शिविर आगामी वर्षहरुमा पनि निरन्तर सञ्चालन गर्ने योजना पनि गाउँपालिकाले बनाएको छ ।
क्याप्सनः पशुपन्छी शिविरमा गाईको उपचार गर्दै स्वास्थ्यकर्मीहरु । तस्विरः माझखर्क