३ घण्टा अघि
२0८२ जेष्ठ २७ सोमबारउदयपुर, जेठ २्६
किराती समुदायको महान् चाड साकेला उभौली (धिरीनाम ५०८५) देश विदेशमा मनाउने क्रममा उदयपुरमा पनि गाउँगाउँमा धुमधामसँग मनाइदैछ । गएको वैशाख पूर्णेका दिन भूमि पुजा र ३ चुलामा पितृ तर्पण गर्दै सुरु भएको उभौली असार पहिलो सातासम्म मनाउने गरिन्छ ।
जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा धुमधामका साथ मनाइदै गरेको किरात राई यायोक्खा उदयपुरले जनाएको छ । यायोक्खाका अनुसार त्रियुगा नगरपालिका, चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका विभिन्न वडा र बस्तीहरुमा उभौली मनाउने क्रम जारी छ ।
त्यसैगरी गाउँपालिकातर्फ ताप्ली, लिमचुङबुङ, रौतामाई र उदयपुरगढीका विभिन्न वडाहरुमा पनि उभौली मनाउने क्रम चलिरहेको स्थानीय यायोक्खा कमिटीहरुले जनाएका छन् । उभौली मनाउन यायोक्खाले बस्तीस्तरीय, वडास्तर र पालिकास्तरमा निश्चित ठाउँ किटान गरी जम्मा भएर सदभाव आदान प्रदान गर्नुका साथै गोलो घेरा हालेर ढोल झ्याम्टा बजाउँदै शिली नाच्ने गरिएको छ ।
ताप्लीका ५ वटै वडामा उभौली मनाउने क्रम चलिरहेको छ भने लिमचुङबुङका पनि ५ वटै वडामा फरक फरक मितिमा उभौली मनाइदै गरेको यायोकखा सचिव राजेश चामलिङले बताए । त्यसैगरी उदयपुरगढीका ८ वटै वडा र रौतामाईका पनि ८ वटै वडाका विभिन्न बस्ती र टोलसम्ममा उभौली मनाउने काम भईरहेको छ । त्यस्तै बेलकाका ९ वडा सबैमा र चौदण्डीगढीका १० वटै वडा तथा कटारीका १४ वटै वडामा उभौली मनाउने क्रम धमाधम चलिरहेको यायोक्खा जिल्ला अध्यक्ष गङ्गा राईले बताएकी छिन् ।
यसैबीच चौदण्डीगढीको ऐतिहासिक स्थल चौदण्डीगढी दरबार परिसरमा शनिबार मात्र उभौली धुमधामका साथ मनाइएको छ । यायोक्खा चौदण्डीगढी १ नं. वडा कार्यसमितिको आयोजनामा सो ठाउँमा उभौली मनाइएको हो । नगरपालिकाका विभिन्न वडा र बस्तीबाट आएका दर्जन बढी नृत्य टोलीको सहभागिता रहेको थियो । ३ र ४ नं. बसाहाको चिप्रिङ टोल, सिर्वानी, हाङ बजार, शिखरपुर, चामलिङ वाभोछा र दुमी राई समूहले आ–आफ्नो साँस्कृतिक शिली प्रस्तुत गरे ।
यायोक्खाका सङ्घीय सदस्य मणि राई, प्रदेश सदस्य प्रमोदजङ राई, जिल्ला सदस्य राजकुमार राई, नगर अध्यक्ष शशिचन्द्र राई, उपाध्यक्षहरु देवीराज राई संरक्षक राई, राजेन्द्र अनमिन, सदस्यहरु प्रेमजङ किराती, महाप्रशाद राई, अम्बर राई (काका), पूर्व नगर कमिटी सचिव शेखर राई, ४ नंं. वडा सदस्य धनकेशर राई उपस्थित थिए । त्यसैग्री ८ नं. वडाध्यक्ष भवनाथ मगर, समाजसेवीहरु छविन्द्र राई, गोपाल मुलाहाङ, केशव राई, इशान राई, वासुदेव राई, मौसम साम्पाङ, मौसम वान्तावा, पिटर राई, विक्रम राई, जेवी राई, शिक्षक जागिरमान राई, स्वास्थ्यकर्मी राजकुमार राई पनि उपस्थित थिए ।
प्रकृति पुजक किराती समुदायका लागि मौसम परिवर्तन हुने याम उधौली र उभौली विशेष महत्वको हुने गरेको छ । गर्मी सुरु भएसँगै उभौली र जाडो सुरु भएपछि उधौली मनाउने किराती समुदायले उभौली र उधौलीलाई भूमि पुजनसँगै नयाँ अदुवा र अन्नपात पुर्खालाई चढाउने तथा अन्नबाली लगाउदा रोग किरा नलागोस्, राम्रो उब्जाउ होस् भन्ने कामना गर्दै पितृ पुकार पनि गर्ने गर्छन् ।
क्याप्सन : उभौलीको बेला साम्खा हुईलुङ हान्दै किराती विजुवा । तस्विरः माझखर्क