मालपोत हाकिम सवार जीप दुर्घटनामा ४ घाईते

२0 घण्टा अघि

२0८२ जेष्ठ २८ मंगलवार
मालपोत हाकिम सवार जीप दुर्घटनामा ४ घाईते

उदयपुर, जेठ २७

मालपोत कार्यालय उदयपुरका प्रमुख सवार जीप दुर्घटनामा पर्दा चालकसहित ४ जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्ती सडकमा मङ्गलबार विहान ७ः३० बजे भएको दुर्घटनामा परी २ जना सर्वसाधारणसमेत घाईते भएको प्रहरीले जनाएको छ । 

 

मालपोत कार्यालयकै स १ झ ४८५ नं. को बोलेरो जीप सडकमा आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी घाईते भएका छन् । कार्यालयको काम लिएर उदयपुरगढी गाउँपालिका गएका मालपोत अधिकृत दुविन्द्र बरालसहितको टोली कार्यालयको काम सकेर सदरमुकाम गाईघाट फर्कने क्रममा दुर्घट्नामा परेको हो । 

 

घाईतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ भर्ना गरिएको छ । घाईतेमध्ये चालक कार्की र खरिदार साहको अवस्था गम्भीर भएकाले थप उपचारका लागि १०ः०० बजे विराटनगर रिफर गरिएको छ । महिला र बालिकाको भने उपचार भईरहेको छ । 


प्रत्यक्षदर्शी खड्ग आलेका अनुसार हाकिम बरालसहित जीपमा सवारमध्ये ४ जनाबाहेक हाकिम बरालसहित यात्रुहरु शौँच गर्न ओर्लेका बेला ओरालो सडकमा जीप ब्रेक फेल भएर आफै दुर्घटनामा परेको हो । 

 

उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार गाउँपालिकाको जग्गाको दररेट निर्धारण समितिको बैठकमा सहभागी हुन मालपोत कार्यालय प्रमुख बराल कर्मचारीसहित अघिल्लो दिन उदयपुरगढी आएका थिए । मङ्गलबारको कार्यालय भ्याउने गरी विहानै फर्केको टोलीसँग छोरीको नागरिक्ता बनाउन भनेर सरिता र छोरी संरचना पनि सँगै सदरमुकाम गएका थिए ।