गणतन्त्रको सुन्दरता : उराठ उदयपुरगढी आकर्षक बन्दै

१ दिन अघि

२0८२ जेष्ठ २९ बुधबार
गणतन्त्रको सुन्दरता : उराठ उदयपुरगढी आकर्षक बन्दै

उदयपुरगढी, जेठ २८

पुरानो व्यवस्थामा उराड र निर्जन रहेको जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी गणतन्त्रपछि भरिभराउ र हराभरा हुदै गएको छ । सङ्घीयता प्राप्तीपछि स्थानीयतह पुनर्संरचना भएसँगै गाउँपालिका केन्द्र तोकिएपछि खण्डहर बनिसकेको उदयपुरगढीले पुनर्जीवन पाएको हो । हाल गढीक्षेत्रमा गाउँपालिका कार्यालय, ५ नं. वडा कार्यालय, कभर्डहल, बैँक, कक्षा शिशुदेखि १२ सम्म विद्यालय, हुलाक, स्वास्थ्य चौकी, प्रहरी चौकी कार्यालयहरु कृयासिल छन् भने नजिकै भ्युटावर निर्माण भईसकेको छ । 


गाउँपालिका कार्यालयदेखि १ किलोमिटर पश्चििममा ५ करोड बढीको लागतमा पुरानो गढीको पुनर्संर्चना कार्य सकिन लागेको छ । ९ करोड लागतमा बहुकोठे ४ तले नयाँ प्रशासनिक भवनको पहिलो तला ढलान भईसकेको छ । १५ शैय्या (बेड)को अस्पताल बनाउन निर्माणाधीन गाउँ अस्पतालका लागि विशाल भवन भवन अन्तिम चरणमा पुगेको छ । वडा नं. ५ गढीस्थित गाउँपालिका कार्यालयदेखि झण्डै १  किलोमिटर तल निर्माणाधीन भवन झण्डै ३ वर्षअघि सुरु भएको प्रवक्ता सहेक विश्वकर्माले बताए । 


झण्डै १५ कठ्ठा क्षेत्रफल जमिनमा बन्दै गरेको अस्पतालका लागि दुईवटा भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् । एउटा २१ कोठाको साढे ३ तले र अर्को १२ कोठाको साढे ३ तले भवन बन्ने प्रिवक्ता विश्वकर्माको भनाई छ । भवनको संरचना निर्माणको अन्तिम चरणमा पुगेकाले आउदो वर्षदेखि गाउँपालिकाबासीले यहीँबाट स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । 


गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारुले हालसम्म भवनको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत भईसकेको बताए । ‘स्ट्र्क्चरको काम लगभग सकिन लागेको छ, अव गारो लगाउने, प्लास्टर र वाईरिङको काम सुरु हु्न्छ’ इन्जिनियर थारुले भने ‘त्यसपछि वाईरिङ, पेन्टिङ र फर्निसिङको काम गरेपछि अस्पताल भवनले पूर्णता पाउँछ ।’ भवन निर्माणका लागि गाउँपालिकासँग निर्माण कम्पनीले ०८२ असार मसान्भित्र सक्ने गरी ०७८ चैत ९ गते सम्झौता गरेको हो । 


प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले भवन निर्माण गर्न एएनके÷धुकुचुङ जेवी काठमाडौँले ठेक्का लिएको बताए । उनका अनुसार २२ करोड ५८ लाख ४५ हजार ४ सय १६ रुपैँयाको लागत इस्टीमेट रहेको भवन बनाउन मूल्य अभिबृद्धि कर (भ्याट)सहित २० करोड ६२ लाख ३८ हजार ८ सय ७४ रुपैँयामा ठेकका सम्झौता भएको छ ।  तर, असार मसान्तभित्र निर्माण सम्पन्न नसक्ने भन्दै ठेकेदार कम्पनीले म्याद थप्न आग्रह गरिरहेको उनले बताए ‘तोकिएको अवधिभित्र सम्पन्न नभए अवस्था हेरेर म्याद थप्न कार्यपालिका बैठकमा छलफल गरिने छ ।’


१५ शैय्याको अस्पताल निर्माण गर्न गाउँपालिकालाई सङ्घीय सरकारले १८ करोड ५० लाख बजेट सुनिश्चित गरेको र हालसम्म ११ करोड हाराहारी बजेट निकासा भईसकेको लेखापाल शेखर बुढाथोकीले बताएका छन् । उनका अनुसार हालसम्म ८ करोड बढी भुक्तानी दिइसकेको र बाँकी बीलको भुक्तानी दिने तयारी भईरहेको छ । 


गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काका अनुसार सङ्घीय सरकारको अनुदानमा उदयपुरगढीमा १५ शैय्याको अस्पताल बन्ने भएपछि स्वास्थ्य सेवा लिन सहज हुनेछ । गाउँपालिकामा ५ शैय्या र नगरपालिकामा १० शैय्याको अस्पताल भवन बनाउने अनुदान दिएको सरकारले उदयपुरगढीलाई १५ शैय्याको बनाउन बजेट दिएकोमा खुसी लोको उपाध्यक्ष खड्का बताउँछन् । 


गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकीले उदयपुरगढी भौगोलिक रुपमा पहाड, खोँच र चुरे मिसिएको बिकट भूगोल भएको र जनसङ्ख्या पनि धेरै भएकाले उपचार सेवाका लागि सदरमुकाम गाईघाट र कटारी बजारसम्म धाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार ठूलो र जटिलखाले रोग लाग्दा त काठमाडौँ, धरान र विराटनगर नगई नहुने अवस्था गाउँलेलाई रहेको छ । 


भवन छटो बनाएर गाउँमै विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाउन सके ८ वटै वडाबासी जनताले सामान्य र मध्यमखाले रोगको उपचार पाउने उनले बताए । छिटोभन्दा छिटो भवन सक्न निर्माण व्यवसायीलाई ताकेता गरिरहेको अध्यक्ष मगरले बताएका छन् । 


जिल्लाको मध्यवर्ती भूगोलमा पर्ने उदयपुरगढी उमुद्री सतहदेखि १ हजार १ सय ८५ मिटर उचाईमा छ । यसको क्षेत्रफल २ सय ६९.५ बर्ग किलोमिटर र जनसङ्ख्या ०७८ को जनगणना अनुसार ६ हजार ८ सय घरधुरीमा १४ हजार ९७ महिलासहित २८ हजार ९ सय २६ जना रहेको गाउँपालिकाले जनाएको छ ।

क्याप्सनः निर्माणाधीन उदयपरगढी गाउँ अस्पताल भवन । तस्विरः सहेक विक