१ दिन अघि
२0८२ जेष्ठ १५ बुधबारउदयपुर, जेठ १४
६ महिनादेखि बन्द भएर ५ महिना लामो समययता कर्मचारीले तलबभत्ता खान नपाईरहेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सुचारु एउटै बैँक खाता पनि रोक्का भएको छ । अदालतको हवाला दिदै जलजलेस्थित लक्ष्मी सनराईज बैँकले उद्योगको सुचारु एउटा खाता पनि मङ्गलबारदेखि रोकेपछि तलब खान बाँकी कर्मचारीको निकासा रोकिएको छ ।
पूर्णरुपमा बन्द उद्योग वैशाख दोस्रो साता सुचारु गरेर १५ दिन हाराहारी क्लिङ्कर उत्पादन गरी सिमेन्ट बेच्न थालेपछि जम्मा भएको रकम कर्मचारीलाई तलव दिन थाािलएको थियो । अरु कर्मचारीले तलब पाईसके पनि २२ जनाले पाउन बाँकी रहँदा खाता रोक्का भएको हो । काठमाडौँ जिल्ला अदालतको हवाला दिदै बैँकले खाता रोकेपछि तलब लिन २२ कर्मचारीको निकासा रोकिएको उद्योग आर्थिक प्रशासनले जनाएको छ ।
वैशाख पहिलो साता फाईरिङ गरेर लगभग १५ दिन हाराहारी उद्योग सञ्चालन गर्दा उत्पादन भएको ९० हजार बोरा गैँडा सिमेन्ट बिक्री गर्दै कर्मचारीलाई पुस महिनाको तलब निकासा दिन थालेको थियो । सातादिनअघि बिक्री सुरु गर्दै जम्मा भएको रकमको आधारमा दिनमा २० देखि ३० जनासम्म कर्मचारीलाई अङ्ग्रेजी वर्णानुक्रम अनुसार तलब पाउन थालेका थिए ।
यो बीचमा उद्योगले २ सय २० कर्मचारीमध्ये १ सय ९८ जनालाई पुसको तलब निकासा गरिसकेको थियो भने बाँकी कर्मचारीको निकासा गर्न लाग्दा बैँकले खाता रोक्का भएको जानकारी दिएको जनाइएको छ । जेठ १२ गतेको निर्णय अनुसार खाता रोक्काको आदेश अदालतबाट आएको बैँकले जानकारी दिएपछि मङ्गलबार बाँकी कर्मचारीको तलब निकासा नगएको लेखा अधिकृत उद्धव घिमिरेले बताए ।
‘हिजोसम्म उद्योगका २ सय २० कर्मचारीमध्ये धेरैले तलब पाईसकेका थिए’ घिमिरेले भने ‘अव बाँकी २२ जनाको तलब आज निकासा गर्न तयारी गर्दा बैँकले खाता रोक्का भएको जानकारी दियो ।’ खाता रोक्का भएपछि लेखा अधिकृत घिमिरे नै तलब पाउनबाट वञ्चित भएका छन् । वर्णानुक्रम अनुसार ‘यु‘ अक्षरबाट सुरु हुने उनको नामका कारण अरुभन्दा पछि तलब खाने पालो आउँदै गर्दा खाता रोकिदा आफै तलबबाट वञ्चित भएको दुखेसो उनको छ ।
‘सिमेन्ट बिक्रीबाट सीमित पैसा आउने भएकाले वर्णानुक्रम अनुसार तलब भुक्तानी गर्दै थियौँ’ घिमिरेले दुखेसो गरे ‘मेरो नाम यु अल्फाबेटबाट सुरु हुने भएकाले अन्तिममा आज तलब खाने पालो थियो, यै बेला खाता बन्द भयो ।’ खाता रोक्का भएपछि अरुलाई तलब खुवाए पनि मलगायत हामी २२ जना रित्तो हात भएको घिमिरेले बताए ।
निमित्त महाप्रबन्धक महेश साहले बैँकले काठमाडौँ जिल्ला अदालतबाट रोक्का भएको भन्दै खाता सञ्चालन गर्न नमानेको बताए । बैँकले रोक्का भने पनि उद्योगलाई खाता रोक्काको कुनै पत्राचार र आधिकारिक जानकारी अदालतबाट नआएको पनि साहले बताए । ‘उद्योगलाई अहिलेसम्म खाता रोक्का गरेको र गर्नुपर्ने कारणबारे कुनै त्यस्तो पत्र प्राप्त भएको छैन, आधिकारिक जानकारी पनि छैन’ साहले भने ‘तर, बैँकको जलजले शाखाले अदालतको हवाला दिदै खाता रोकिएको भनेर कारोबार गर्न नमान्दा बाँकी कर्मचारी तलब पाउनबाट वञ्चित भएका छन् ।’
यसअघि जिल्ला अदालत ललितपुरले वैशाख २ गते पत्राचार गर्दै उद्योगका सबै खाता रोक्का गरेको थियो । अदालतको आदेश अनुसार राष्ट्रिय बाणिज्य, नेपाल बैँक, ग्लोबल आईएमसी, एनआईसी एसिया,सिटिजन्स, लक्ष्मी सनराईजलगायत बैँकका २८ खाता बन्द भएका थिए । तर, उद्योगले उत्पादन गरेको सिमेन्ट बेच्न बाधा परेको भन्दै काठमाडाँै जिल्ला अदालतसँगको समन्वयमा लक्ष्मी सनराईज बैँकको एउटा खाता सुचारु गरेर उद्योगको कारोबार चल्दै आएको थियो ।
यो सहित अदालतले उद्योगको खाता रोक्का गरेको यो तेस्रो पटक हो । यसअघि गत माघमा काठमाडौँ जिल्ला अदालतले सबै खाता रोक्का गर्ने आदेश दिदै सप्लायर्सको झण्डै १ करोड बक्यौता खाताबाटै भुक्तानी गरिदिएको थियो । त्यसबेला उद्योगका पूर्व सञ्चालक समिति सदस्यसमेत रहेका रौतामाई सर्भिसेज प्रालिका सञ्चालक सुभाष राउतको उजुरीका आधारमा अदालतले खाता रोकेको थियो । उद्योगकै खाताबाट रकम तानेर अदालतले राउतलाई भुक्तानी दिएपछि खुलेको खाता अर्को सप्लायर्स पायोनियर होल्डिङको बक्यौता भुक्तानी गर्न आदेश दिदै ललितपुर अदालतले खाता रोक्का गरेको थियो ।
सरकारी उद्योग भएकाले सिमेन्ट बिक्री गर्दा बैँकमा रकम जम्मा गरेको भौचर बुझाएपछि मात्र सिमेन्ट लोड गर्ने प्रावधान छ । तर, खाता नै रोक्का भएपछि तलबबाट कर्मचारी वञ्चित हुनुका साथै बाँकी सिमेन्ट बिक्रीमा पनि अङ्कुश लागेकोमा कर्मचारी मजदुर रुष्ट भएका छन् ।
जिएम साहका अनुसार हालसम्म ३२ हजार ७ सय ३५ बोरा सिमेन्ट बिक्री भएर झण्डै १ करोड बढी रकम जम्मा भएपछि त्यसबाट तलब भुक्तानी दिन थालिएको थियो । तर, खाता रोक्का भएपछि अव स्टक रहेको ७० हजार बोरा सिमेन्ट बिक्रीसमेत रोकिने समस्या उत्पन्न भएको छ । साहले उद्योगलाई सकेसम्म चल्नै नदिने, चले पनि बिक्री गर्न नदिने चारतिरको षडयन्त्रको शिकार बनाइएको गुनासो गरेका छन् । ‘६ महिनादेखि बन्द उद्योग सञ्चालन गरेर सिमेन्ट उत्पादन गर्यौँ, अदालतबाट रोक्का खाता बल्लबल्ल एउटा सुचारु गरेर बिक्री थालेका थियौँ’ साहले दिक्दारी मान्दै भने ‘६ महिनादेखि सुख्खा रहेका कर्मचारीलानई तलब दिदैगर्दा फेरि खाता रोक्का हुन्छ, नसकिने भयो ।’