कटारी ८ का आधादर्जन बस्तीबासी सेवाविहीन 

११ घण्टा अघि

२0८२ जेष्ठ ११ शनिबार
कटारी ८ का आधादर्जन बस्तीबासी सेवाविहीन 

कटारी, जेठ १०

उदयपुरको कटारी नगरपालिकाका आधा दर्जन बस्तीबासीले वडा कार्यालय र स्वास्थ्य चौकी टाढा हुँदा सेवा पाउन नसकेको गुनासो गरेका छन् । नगरमुकाम कटारी बजार पुग्नभन्दा वडा कार्यालय टाढा भएप्छि ८ नं. वडा सिरिसेको आधाभन्दा बढी भूभागका बासिन्दा स्वास्थ्य र वडाबाट पाउनुपर्ने सेवा पाउन नसकेर पीडित हुन पुगेका हुन् । 


स्वास्थ्य चौकी र वडा कार्यालय आफुहरुको पहुँचभन्दा टाढा रहेको भन्दै पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गर्न माग गर्दै उनीहरुले नगरपालिकाको ढोका ढक्ढक्याउन पुगेका छन् । स्थानीय मरुवा खोलाले वारि र पारि गरी ठ्याक्कै दुईभागमा चिरेकाले एकापटिकालाई सुविधा भए पनि अर्को पटिकालाई समस्या हुने गरेको हो । वडा कार्यालय र स्वास्थ्य चौकी खोला पारि पश्चिमतर्फ रहेकाले पूर्वतर्फका बस्तीबासीलाई समस्या भएको हो । पूर्वतर्फ आलोटा, भागलढाकी, बबलवा, सिर्जनाबनी, गालतार, डडरिया, टाटी, रातिनीसार, रातमाटे, दुग्ने, गहनेलगायत बस्तीहरु छन् । 


उनीहरुलाई उपचार र वडाको सेवा सुविधा लिन लामो दूरी हिडेर जानुपर्ने तर, सडक सुविधा नपुगिसकेकाले पैदल हिडेर जान घण्टौँ लाग्ने स्थानीय बताउँछन् । ०७९ को स्थानीयतह निर्वाचनका उम्मेदवारहरु प्रदेश साँसद रामकुमार खत्रीदेखि मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसम्मले त्यहाँ वडा प्रशासनिक सेवा कार्यालय र स्वास्थ्य केन्द्र खोल्ने प्रतिबद्धता जनाएका थिए । चुनाव जितेपछि खत्री प्रदेशमन्त्री पनि भए । तर, घर नजिकै वडा कार्यालय र स्वास्थ्यचौकी हुनाले चुनाव जितेपछि गरेको वाचा भुसुक्कै बिर्सेका छन् । 


स्थानीयले चुनावी वाचा सम्झाउँदै धेरेचोटी साँसद खत्री, मेयर राजेशचन्द्रश्रेष्ठ, उपमेयर गीता खड्का र वडाध्यक्ष नविन्द्र तामाङलाई वाचार पुरा गर्न अनुरोध गरे पनि सुन्या नसुन्यै गरेपछि नगरपालिकामा ज्ञापनपत्र बुझाएर माग राखेका छन् । ‘स्वास्थ्य चौकी र वडा कार्यालय सबै पारि भएकाले उपचार र नागरिक्ता, जन्म, मृत्य, बिहेलगायत व्यक्तिगत घट्ना दर्ता र सिफारिस लिनुपरे यताकालाई धेरै समस्या छ’ पूर्व वडाध्यक्ष कमल श्रेष्ठले भने ‘त्यसैले स्वास्थ्य र प्रशासनिक दुवै सेवा लिन सहज बनाउने गरी भाटाबारीमा सामुदायिक स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गर्न स्थानीयले माग गरेका थियौँ, नेताहरुले हुन्छ भने तर, अहिलेसम्म गरेनन् ।’ 


स्थानीयहरुको सर्वपक्षीय जनप्रतिनिधिमण्डलले बिहीबार नगरप्रमुख श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउँदै मागहरु प्रस्तुत गरेको छ । बढी जनसङ्ख्या पूर्वीक्षेत्रमा रहेकाले पायक पर्ने ठाउँमा स्वास्थ्य एकाई र वडा सेवा कार्यालय तत्काल स्थापना गर्न ज्ञापनपत्रमा उनीहरुल्े माग गरेका छन् । सामान्य उपचार सेवा लिन पनि कटारी अस्पताल र घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन उनीहरुले नगरप्रमुख र वडाध्यक्षको ध्यानाकर्षण गराएका छन् । 


स्थानीय राजनीतिक दलहरु, नागरिक समाज, युवा समूह तथा त्यसक्षेत्रका १० वटा टोल विकास सँस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलमा नेकपा (माओबादी केन्द्र)का कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठसमेत सहभागी थिए । मेयर श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य एकाई र वडा सेवा कार्यालय स्थापना गर्न चाहिने ४ रोपनी जमिनसमेत स्थानीयले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् । 


भाटाबारीमा सामुदायिक स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गरेर सो क्षेत्रबासी नागरिकलाई स्वास्थ्य र प्रशासनिक सेवामा सहज पहुँच मिलाउन यही आउँदो बजेटमा रकम विनियोजन गर्न पनि माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सबै राजनीतिक दल र नेपाल पत्रकार महासङ्घलाई बोधार्थ दिइएको ज्ञापनपत्र अनुसार माग पुरा नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत उनीहरुले दिएका छन् ।