त्रियुगाको नयाँ डम्पिङसाईटमा फोहोर फाल्न सुरु 

२ दिन अघि

२0८२ जेष्ठ ९ बिहीबार
त्रियुगाको नयाँ डम्पिङसाईटमा फोहोर फाल्न सुरु 

उदयपुर, जेठ ८

स्थानीयको अवरोधपछि त्रियुगा नगरपालिकाले नयाँ डम्पिङसाईटमा फोहोर फाल्न थालेको छ । पहिले फोहोर फाल्दै आएको त्रियुगा नगरपालिका १२ त्रिबेणीस्थित साविकको डम्पिङसाईटमा स्थानीयबासीले फोहोर फाल्न नदिएपछि नयाँ डम्पिङसाईट तोकिएको हो । 


त्रिबेणीमा फोहोर फाल्न स्थानीयबासीले दुईदिनदेखि अवरोध गरेपछि बजारमा थुप्रिदै गएको फोहोर बिहीबार दिउँसो उठाएर नयाँ डम्पिङसाईटमा फाल्न थालिएको छ । साविक त्रिबेणी टोलस्थित त्रियुगा नदी किनारको डम्पिङसाईटले दुर्गन्ध बढेको तथा रोग व्याध संक्रमण हुने भन्दै स्थानीयको चर्को बिरोधपछि नगरपालिकाले नयाँ डम्पिङसाईटको खोजी गर्दा नगरपालिकाले वडा नं. ६ को चुरे सामुदायिक वन उपभोक्ता समूहक्षेत्रको जङ्गलबीच खाल्डोलाई डम्पिङसाईट तय गरेको छ । 


नगरप्रमुख बसन्त बस्नेतले नयाँ डम्पिङसाईट फेला परेपछि बिहीबारदेखि सबै फोहोर त्यहाँ फाल्न थालिएको बताए । बस्नेतले नयाँ डम्पिङसाईटलाई फोहोर व्यवस्थापनको स्थायी थलो बनाउने गरी नगरपालिका अघि बढ्न लागेको बताएका छन् । साविकको डम्पिङसाईटमा भने ‘त्रियुगा आदर्श क्रिकेट मैदान’ निर्माण गर्ने योजना बनाएको मेयर बस्नेतले बताएका छन् । त्यहाँ क्रिकेट मैदान बनाउन चालुवर्ष २ करोड रकम सुनिश्चित गरेर बहुवर्षीय योजना लागू गर्ने तयारीमा रहेको बस्नेतले बताए । 


अघिल्लो कार्यकालका मेयर बलदेव चौधरीले सौर्य उर्जा प्लाण्ट राख्ने प्रयोजनका लागि छुट्याएर घेराबेरा गरेको खाली जमिनलाई यसअघि नगरपालिकाले डम्पिङसाईट बनाउदै आएको थियो । सौर्यउर्जा प्लाण्टको योजना स्थगित भएपछि त्यहाँ फोहोर बिसर्जन गरिदै आएकोमा स्थानीयको चर्को बिरोध गर्दै फोहोर फाल्न रोकेका थिए । 


मेयर बस्नेतका अनुसार गाईघाट बजारमा दैनिक ३ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । नगरपालिकाले ‘फोहोरलाई मोहर’ बनाउने योजना पनि अघि सारेको बस्नेतले बताएका छन् । नगरमा उत्पादित फोहोरमध्ये कुहिनेलाई कम्पोष्ट मलमा परिणत गर्ने र नकुहनेलाई रिसाईक्लिङ (पुनरप्रयोग) गरी दैनिक जीवनमा प्रयोग हुने सामग्री निर्माण गरी रोजगारी र आमदानीको स्रोतमा बदल्ने तयारी गरेको उनको भनाई छ । 


त्यसका लागि छिट्टै हुन लागेको आगामी आर्थिकवर्ष ०८२÷८३ को बजेट तथा नीति कार्यक्रममा ठोस योजना ल्याउने तयारी नगरपालिकाले गरिरहेको छ । सदरमुकामसमेत रहेको गाईघाटमा प्लास्टिकजन्य फोहोर अत्याधिक मात्रामा उत्पादन हुने गरेको छ भने कुहिने फोहोर पनि उत्तिकै परिमाणमा उत्पादन हुने गरेको छ ।

 

नगरपालिकाले रिसाईक्लिङ योजना ल्याएमा सफल हुनुका साथै फोहोर व्यवस्थापनसँगै आन्तरिक स्रोत बृद्धिमा पनि योगदान पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।