उदयपुर सिमेन्टका थप ३० कर्मचारीले तलव पाए  

५ दिन अघि

२0८२ जेष्ठ ६ सोमबार
उदयपुर सिमेन्टका थप ३० कर्मचारीले तलव पाए  

जलजले, जेठ ५

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका थप ३० कर्मचारीले तलब पाएका छन् । ६ महिनाअघि उद्योग बन्द भएपछि तलब खान नपाएका कर्मचारीले पुस महिनाको तलबभत्ता पाएका हुन् । 


यो सहित ८० जनाले तलब पाएको उद्योगका लेखा अधिकृत उद्यव घिमिरेले बताए । उनका अनुसार आईतबारसम्म ८० कर्मचारीले तलबभत्ता पाएका छन् । ङ्गलबारदेखि क्लिङ्कर पिसेर सिमेन्ट बिक्री गर्न थालेको उद्योगले बिक्रीवापतको रकमबाट बिहीबारदेखि कर्मचारीलाई तलब दिन थालेको थियो । पहिलो दिन २६ जनालार्ई  ९ लाख ५५ हजार, शुक्रबार २४ जनालाई ९ लाख २३ हजार र आईतबार ३० कर्मचारीलाई ११ लाख ५० हजार तलव निकासा दिइएको छ । 

 

घिमिरेका अनुसार सिमेन्ट बिक्री भएर जम्मा हुने रकम कर्मचारीलाई एक महिनाबराबरको तलब निकासा दिने व्यवस्थापनको निर्णय छ । वैशाख १२ गते उद्योग सुचारु भएपछि उद्योगका ८० कर्मचारीले पुस महिनाको तलबभत्ता पाईसकेको र अव १ सय ४० कर्मचारीले पाउन बाँकी रहेको घमिरेले बताए । 

 

सिमेन्ट बिक्री भईरहेकाले यो साताभित्र सबै कर्मचारीलाई पुस महिनाको तलब खुवाईसक्ने लक्ष्य लिइएको उनले बताए । ‘अव १ सय ४० जना कर्मचारीलाई तलब दिन बाँकी छ’ उनले भने ‘सिमेन्ट बिक्री हुँदै जान्छ, तलब निकासा दिइदै जाने हो । यो साताभित्र सबैले पाईसक्लान् भन्ने लाग्छ ।’ आजका दिनसम्म उद्योगमा २ सय १३ जना कर्मचारी कार्यरत छन् ।

 

वर्षदिनयता पटकपटक रोकिदै सुचारु हुदै आएको उद्योग विगत ६ महिनादेखि पूर्णरुपमा बन्द भएको थियो । उद्योगका मेसिन उपकरण बिग्रेको तथा कोईला, डिजललगायत कच्चा पदार्थ अभाव देखाउँदै चल्न नसक्ने भनेर बन्द उद्योग पार्टपुर्जा मर्मतपछि वैशाख दोस्रो सातादेखि सुचारु गरिएको थियो । १२ दिन पुग्ने कच्चा पदार्थको जोहो गरेर सुचारु गरिएको उद्योगबाट पटकपटकको विद्युत अवरुद्धका बाबजुद दुईसाता चल्दा ४ हजार ८ सय मेट्रिक टन क्लिङ्कर अर्थात ९० हजार बोरा सिमेन्ट उत्पादन भएको छ ।  

 

उद्योगका निमित्त महाप्रबन्धक महेश साहले १५ दिन उद्योग सुचारु गर्दा उत्पादित सिमेन्ट बिक्री गर्दै कर्मचारीलाई तलब खुवाउन थालेको बताए । उनका अनुसार एकैचोटी सबै कर्मचारीलाई तलब दिन अपुग भएकाले अङ्ग्रेजि वर्णानुक्रम अनुसार निकासा दिइदै आइएको छ । जिएम साहले उद्योग सुचारु गर्न बजेट अभाव भएपछि उद्योगको पुँजीगत बजेटबाट ५ करोड आन्तरिक ऋण लिइएको छ । उद्योग चल्नै नसक्ने गरी यन्त्र उपकरण बिग्रेपछि मर्मत सम्भारका लागि माओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले ०८० चैतमा १६ करोड रकम अनुदान सहयोग गरेको थियो । मर्मत गरेर बाँकी ११ करोडमध्ये ५ करोड आन्तरिक ऋण लिएर कच्चा पदार्थ जोहो गरी उद्योग सुचारु गर्दा ७ करोड बढीको सिमेन्ट दुईसातामै उत्पादन भएर कर्मचारीलाई ५ महिनापछि तलब खुवाउन पाएको साहले बताए ।

 

तर, दुईसाता सुचारु भएपछि कच्चा पदार्थ सकिएकाले सातादिनयता उद्योग बन्द भईसकेको छ । उत्पादित सिमेन्ट बेचेर कर्मचारीलाई एक महिनाको तलब खुवाएर बँचेको रकमबाट कोइईला खरिद गरेर पुन उद्योग सुचारु गर्न खोजे पनि भुक्तानी पाउन बाँकी सप्लायर्सको उजुरीका कारण अदालतले उद्योगका बैँक खाताहरु रोक्का गरेकाले समस्या भईरहेको साह बताउँछन् । कोईलाको भुक्तानी पाउन बाँकी पायोनियर होल्डिङको उजुरीका आधारमा जिल्ला अदालत ललितपुरले उद्योगका बैँक खाताहरु रोक्का गर्दै १५ दिनभित्र भुक्तानी दिन गत वैशाख २ गतेको पत्रानुसार आदेश दिएको थियो । 

 

जिएम साहका अनुसार पायोनियर होल्डिङलाई उद्योगले विभिन्न मितिमा कोईला आपूर्ति गरेवापत ११ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । तर, उद्योगसँग हाल चालु पुँजी नभएको र सरकारले दिएको बजेट यन्त्र उपकरण मर्मत गर्ने प्रयोजनमा मात्र खर्च गर्न मिल्ने भएकाले उद्योग सुचारु गरेपछि मात्र भुक्तानी दिने भन्दै थाती राखेको हो । तर, अदालतको आदेशले यसअघि पनि अर्को सप्लायर्स रौतामाई सर्भिसले १ करोड भुक्तानी पाईसकेको साहले बताए ।