१ दिन अघि
२0८२ जेष्ठ १६ बिहीबारउदयपुर, जेठ १५
१८ औँ गणतन्त्र दिवसको अवसर पारेर उदयपुरमा विविध कार्यक्रमहरु आयोजना भईरहेका छन् । गणतन्त्र दिवसको अवसर पारेर ‘गणतन्त्र दिवस २०८२ जिल्ला मूल समारोह समिति’ले ३ दिने कार्यक्रम तय गर्दै विविध गतिबिधि गरिरहेको हो ।
दिवस मनाउने क्रममा जिल्ला अस्पताल उदयपुर परिसरमा झण्डौतोलन, बृक्षा रोपन तथा विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भयो । जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्मा, त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, जनप्रतिनिधि तथा विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधिहरुले बिहीकार विहान झण्डौतोलन गरे ।
त्यसैगरी श्रमिक पार्क (भगवति मन्दिर परिसर)मा सरसफाई कार्यक्रम पनि गरियो । समन्वय प्रमुख, सिडिओ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राजनीतिकर्मीहरुको टोलीले पार्कक्षेत्रको सरसफाई गरेको हो । बिहीबारै त्रियुगा बसपार्क नजिकै वहुधार्मिक शान्तिधाम परिसरमा आयोजित योग कार्यक्रम पनि सम्पन्न भएको छ ।
कार्यक्रममा दिवस मूल समारोह समितिका अध्यक्ष जिल्ला समन्वय प्रमुख विश्वकर्माले नेपालमा स्थापित गणतन्त्र जनताले जनतामाथि शासन गर्ने व्यवस्था रहेको बताउँदै यसको बिकल्प केही नभएको बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सदियौँ वर्षको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र र सङ्घीयताको सँस्थागत विकास गर्नुपर्नेमा जोड दिदै त्यसका लागि संविधानले गरेको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गरेर जानुपर्ने बताए । जनतालाई खुसी र सुखी बनाउने व्यवस्था गणतन्त्रभन्दा अर्को कुनै बिकल्प हुनै नसक्ने उनीहरुको जोड थियो ।
सिडिओ लुईटेलले गणतन्त्रको रक्षा र विकासका लागि सबैपक्ष मिलेर अघि बढ्नुपर्ने बताए । सवल पक्षहरुको प्रचार प्रसार र गणतन्त्रको आधारहरुलाई कार्यन्वयन गर्नु पर्ने उनले जनाए ।