१ दिन अघि
२0८२ जेष्ठ १७ शुक्रबारगाईघाट, जेठ १६
प्रहरीले पछिल्लो समय धेरै ठूलो परिमाणमा गाँजा बरामद गर्दै आएको छ । यसैबीच बिहीबार मात्र १ हजार भन्दा बढी किलो गाँजासहित २ महिला पक्राउ परेका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटार बजारबाट प्रहरीले स्थानीयको घरमा लुकाई छिपाई राखेको अवस्थमा १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम गाँजा बरामद भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको संयुृक्त टोलीले विहीबार साँझ उक्त गाँजा बरामद गरेको हो ।
प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङ्का अनुसार प्रहरीले गाँजासहित रानीटारका २ महिलाहरु ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । रत्नमायाको घरमा लुकाई छिपाई राखेको अवस्थामा ३५ ओटा बोरामा प्याक गरेर सो परिमाणको गाँजा बरामद गरेको हो ।
पक्राउ गाँजा र श्रेष्ठद्वयलाई शुक्रबार विहान सदरमुकाम गाईघाट ल्याइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धकान सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।
कानुनी बन्देज खोल्ने विषयमा देशव्यापी बहस भईरहेको र १ नं. प्रदेश सरकारले प्रतिबन्ध फुकुवा गरेर करको दायरामा ल्याउने तयारी गरिरहेकै बेला भकाभक गाँजा पक्राउ पर्ने गरेको छ ।
पछिल्लो समययता जिल्लाको पश्चिम र पूर्वी नाकाबाट गाँजा पक्राउ पर्ने गरेको छ । पश्चिमी भेगमा कटारी नाका भएर र पूर्वी भेगमा बेलका र चौदण्डीगढी नाकाबाट लुकाई छिपाई जिल्लाबाहिर लाने क्रममा गाँजा र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् ।