खोटाङको हलेसी पुगेर पहिचानबादी बने शेखर

१ दिन अघि

२0८२ जेष्ठ १८ शनिबार
खोटाङको हलेसी पुगेर पहिचानबादी बने शेखर

खोटाङ, जेठ १७
नेपाली काँग्रेसमा सँस्थापन इतर नेताको परिचय बनाएका नेता डा. शेखर कोईराला एकाएक पहिचानबादी करार भएका छन् । अहिलेसम्म कहिल्यै पहिचानको कुरा नगरेका विद्रोही खेमाका नेता कोइरालाले खोटाङको हलेसीमा शनिबार किराती समुदायको साकेला उभौलीको अवसरमा आयोजित कार्यक्रममा खाँट्टी पहिचानबादी भएको ठोकुवा गरे । 


किराती भेषको सेतो पगरी र छातिको देब्रेपछि सिलामसाक्माले सजिएका नेता कोईरालाले अब्बल पहिचानबादी भएको स्वाङ पार्दै भने 'किराँती समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफु र आफ्‌नो पार्टी रहेको छ ।' साकेला उभौली कार्यक्रममा भेला भएका जनसमुदायलाई सम्बोधन गर्दै डा. कोइरालाले आफु किराँत सँस्कृति, सभ्यता र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै नेपाली काँग्रेस पनि त्यसमा प्रतिबद्ध रहेको दावी गरे ।


‘नेपाली काँग्रेस पार्टी द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्छ’ कोईरालाको भनाई थियो ‘त्यो पार्टीको नेताको हैसियतले म सधैँ लागिरहेको छु ।, तपाईँहरूको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा तपाईहरूसँगै छु र रहिरहनेछु ।’


कोइरालाले नेपाल र नेपालीको सँस्कार, सँस्कृति र सभ्यता जोगाउन नसके सभ्य समाज निर्माण हुन नसक्ने पनि बताए । हलेसी तुवाचुङजस्ता पवित्र स्थलहरू किराँत मात्र नभई समग्र नेपालीकै सँस्कृति र सभ्यताका उद्गमस्थल भएको भन्दै उनले यस्ता पवित्र ठाउँ र सँस्कृति सभ्यतालाई जोगाउन सकेनौँ भने सभ्य समाज बनाउन पनि नसकिने उनको भनाई थियो । 


हलेसी तुवाचुङ क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै कोईरालाले यसका लागि आवश्यक योजनाहरू अघि बढाउन जोड दिए । किराँती समुदायलाई ढुक्क भएर आफ्नो पहिचान र हकअधिकारको पक्षमा लाग्न आग्रह पनि गरे । पहिचानको अभियानमा नेपाली काँग्रेसले सधैँ सकारात्मक सहयोग गर्ने प्रतिबद्धता पनि नेता कोईरालाले व्यक्त गरे ।