खोटाङको दिखुवा खोलामा मोटरेबल पुल बन्ने

१ दिन अघि

२0८२ जेष्ठ १९ आईतवार
खोटाङको दिखुवा खोलामा मोटरेबल पुल बन्ने

उदयपुर, जेठ १८

खोटाङको दिखुवा खोलामा मोटरबेल पुल निर्माण हुने भएको छ । सदरमुकाम दिक्तेललाई पूर्वी तराई बजारसँग जोड्ने छोटो नाकाको बाधक बन्दै आएको दिखुवामा बन्ने पुलको आईतबार सिल्यान्यास भएको छ । 

 

सदरमुकाम दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक खण्डमा पर्ने दिखुवामा नयाँ पुलको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले सिलान्यास गरेका हुन् । मझुवागढी ४ को खाल्ले र १५ को विजयखर्कबीच सीमामा रहेको दिखुवा खोलाले हरेक वर्षायाममा ३÷४ महिना यातायात आउजाउ गर्न स्थानीयलाई वञ्चित गर्ने गरेको छ । 

 

दिखुवामा पुलसँगै सडक स्तरोन्नति गर्नका लागि पनि मन्त्री राईले पहल गरिरहेको बताएका छन् । पुल र सडक स्तरोन्नति भएपछि दिक्तेलबाट सोझै पूर्वी तराईसम्म यातायात आउजाउ गर्न छोटो र सहज हुने उनले बताए । प्रदेश सडक पुल सहयोग एकाई कार्यालय ईटहरीमातहत पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गर्ने ट्रस प्रविधिको पुल बनाउन प्रदेश सरकारले ५ करोड ५० लाख हाराहारी लगानी गर्ने जनाइएको छ । 

 

भौतिक पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) ललितकुमार चौधरीका अनुसार पुल बनाउन आवश्यक स्टिल (ट्रष्ट) प्रदेश सडक पुल सहयोग एकाईले उपलब्ध गराउनेछ भने निर्माण कार्य पूर्वाधार कार्यालयबाट हुनेछ । त्यसका लागि २ करोड बढीको स्टील ट्रस तयार गरेर निर्माणस्थलमा पु¥याईसकिएको छ । एकाईबाट स्टील ट्रस उपलब्ध हुने भएपछि पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालयले गर्ने चौधरीले बताए । त्यसका लागि पूर्वाधार र्काालयले टेण्डर आव्हान गर्ने डिई चौधरीले बताएका छन् । 

 

पुलको सिल्यान्यास भईसकेकाले तत्कालै टेण्डर आव्हानज गरेर पुल निर्माण कार्य सुरु हुनेछ । दिखुवामा पुल बनाउनका लागि गएको फागुनदेखि नै मन्त्री राईले पहल थालेको बताएका छन् । त्यसका लागि उनले प्राविधिकसहित आएर निर्माणस्थल अध्ययन, डिजाईन र लागत अनुमान गर्न लगाई टेण्डर खोल्ने प्रक्रियासहित सिल्यान्यास गरेका हुन् । 
 

स्टील ट्रस जडान गरेर निर्माणस्थल ल्याउन थालेकाले आउँदो ६ महिनाभित्र पुल बनाईसक्ने मन्त्री राईको विश्वास छ । दिखुवामा पुल बनेपछि कालोपत्रे भईसकेको दिक्तेल–महुरे खण्ड २० किलोमिटर र कालोपत्रे भईरहेको महुरे–राजापानी–रेग्मीटार २९ गरी दिक्तेलदेखि रेग्मीटारसम्मको ५९ किलोमिटर सडक मा दिक्तेल–तराई आउजाउ सहज हुनेछ । 
निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो रहे पनि दिखुवामा पुल नहुँदा लामो घुमाउरो यात्रा गर्न जिल्लाबासी बाध्य थिए । दिक्तेल रुपाकोट मझुवागढी ४ खाल्लेको आहालेदेखि हलेसी तुवाचुङ ११ राजापानी घर्तीभिरसम्म र सगरथामा लोकमार्ग दिक्तेल–गाईघाट सडक रेग्मीटारदेखि घर्तीभिरसम्म नयाँ ट्रयाक पहिल्यै खोलिसकिएको छ ।

 

तर, घर्तीभिरमा ठूलो चट्टान भएकाले रोकिएको काम हाल सुचारु भएको छ । सगरमाथा लोकमार्गको विकल्पका रूपमा लिएको यो सडकमा हलेसी तुवाचुङ ११ राजापानी पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन भईरहेको छ । दिखुवामा पुल बनेपछि दिक्तेल–खानीडाँडा–रेग्मीटार खण्डमा नियमित यातायात सञ्चालन हुने र यसले तराईभेगका सहर बजारबाट खोटाङमा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज हुने खोटाङ उद्योग बाणिज्य सङ्घले जनाएको छ । 

 

क्याप्सनः दिखुवामा पुल निर्माण गर्न स्टील ट्रस खसाइदै । तस्विरः महेश्वर