कटारीको कामकाज नयाँ प्रशासनिक भवनबाट सुरु  

२ दिन अघि

२0८२ जेष्ठ २0 सोमबार
कटारीको कामकाज नयाँ प्रशासनिक भवनबाट सुरु  

कटारी, जेठ १९

उदयपुरको दोस्रो ठूलो नगरपालिका कटारीले नयाँ प्रशासनिक भवनबाट कामकाज थालेको छ । भवनको शनिबार नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्तरुमपा उद्घाटन गरेसँगै सम्पूर्ण कामकाज त्यहाँबाट सुरु भएको हो । 


अत्याधुनिक ४ तले वहुकोठे विशाल आकर्षक ‘कटारी नगरपालिका प्रशासनिक भवन’ मदन भण्डारी लोकमार्ग उत्तरतर्फ फराकिलो आँगन जोडिएको छ भने पार्किङ सडकभन्दा दक्षिणतर्फ तावा खोला किनारमा निर्मित छ । नगरपालिकाका ईन्जिनियर ओमप्रसाद मिश्रका अनुसार ०७९ माघ २० गते सम्झौता भई सोही वर्षको फागुन २ गतेदेखि निर्माण सुरु भएको भवनमा ६४ कोठा छन् । 


भुस्नाम्छा÷प्राईम÷बेलटार जेवी काठमाडौँले निर्माणको जिम्मा पाएको भवन मूल्य अभिबृद्धि कर (भ्याट)सहित ६ करोड ३७ लाख ४६ हजार ८ सय १९ रुपैँयामा निर्माण भएको हो । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा बाँकी ५० प्रतिशत नगरपालिकाले बजेट साझेदारी गर्दै निर्माण समपन्न भएको इन्जिनियर मिश्रले बताएका छन् । 


कार्यालयको पार्किङका लागि लोकमार्गभन्दा दक्षिणतर्फ तावा खोला किनारको १० कठ्ठा जमिन उपयोगमा ल्याएको इन्जिनियर मिश्रले बताए । भवनछेउमा बसपार्क रहेको र बाँकी जमिनमा अन्य संरचना बनाउनुपर्ने भएकाले खोला किनारको नदी उकास जमिन पार्किङका लागि प्रयोगमा ल्याइएको हो । 


प्रमुख प्रशासकीय अधिकृत राजन थापाका अनुसार नयाँ भवन पाएपछि कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न र लाभग्राहीलाई सेवा पाउन धेरै सहज भएको छ । भवन नहुँदा वर्षौँदेखि अप्ठेरो तरिकाले काम गर्नुपर्ने बाध्यता थियो । साविक कटारी गाउँ विकास समितिको दुईतले साँघुरो भवनको बरण्डा र कौसीसम्ममा ट्रस र जस्ताको छानो जडान गरी विषयगत शाखाका लागि कोठा निकाल्दै कार्यालय चलाउनु परेको थियो । 


अहिलेसम्म भोग्नु परेको समस्याबाट नयाँ भवन पाएसँगै जनप्रतिनिधि, कर्मचारी र नगरबासी तीनै पक्षलाई छुटकारा मिलेको उनले बताए । भवन अभावकै कारण नगर कार्यपालिका बैठक राख्न र राजश्वलगायत केही विषयगत शाखाहरुका लागि छेउको जमिनमा २ वटा टहरा बनाएर काम चलाइदै थियो ।