एमाले युवा सङ्घ अध्यक्ष कुटिएपछि...

१ दिन अघि

२0८२ जेष्ठ २१ मंगलवार
एमाले युवा सङ्घ अध्यक्ष कुटिएपछि...

उदयपुर, जेठ २० 

सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटका शुभनारायण ठाकुर (बेनी) सोमबार विहान खाजा खाने पाउरोटी किन्न नजिकैको पसल पुगे । पसलेले प्लास्टीक प्याक पाउरोटी दिए, उनी लिएर घर फर्के । तर, खोलेर खान खोज्दा ढुसी परेको पाउरोटी देखियो । उनले तत्काल पत्रकारलाई खवर गरे र पसलमा आउन भने, पाउरोटी लिएर फर्केका ठाकुर र पत्रकार सँगसँगैजसो पसल पुगे । 


पसले दिनेश चौधरीलाई ‘साउजी यस्तो ढुसी परेको पाउरोटी किन बेचेको ?’ भन्दै प्रश्न गरेपछि केहीबेर भनाभन भयो । पसलेले ‘कारखानाबाट प्लास्टीक प्याक पाउराोटी आउँछ, हामीले नखोली बेच्ने हुँदा ढुसी परेको नपरेको थाहै पाउँदैनौँ’ भनेपछि कारखानालाई कारबाही गर्नुपर्छ, यस्तो सामान नराख्न चेतावनी दिदै उनी घर फर्कन लाग्छन् । त्यत्तिकैमा एक्कासी पछाडिबाट मुक्का वर्षन्छ । उनीमाथि कुटपिट गर्ने पसलेकै भतिज २१ वर्षीय प्रसान्त चौधरी र त्रियुगा नगरपालिका १२ बुद्ध चोकका ३० वर्षीय सञ्जु चौधरी हुन्छन् । 


एमाले युवा सङ्घ नेपालका त्रियुगा नगर कमिटी अध्यक्षसमेत रहेका ठाकुरले यस विषयमा अघिल्लो दिउँसो प्रहरीमा उजुरी दिएका छन् भने मङ्गलबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै घट्नाको निन्दा गरेका छन् । ढुसी परेको पाउरोटी नबेच्न खवरदारी गर्दा आफुमाथि आक्रमण भएको भन्दै उनले कारबाहीको माग गरेका छन् । बजारमा खुलेआम ढुसी परेको अखाद्य पाउरोटी बिक्री वितरण हुदै आएको भन्दै उनले त्यस्तो कारखाना र आक्रमणकारी प्रशान्त र सञ्जुमाथि कारबाहीको माग उनले गरेका छन् । 


गाईघाट बजारकै व्यापारीले खुलेआम अखाद्य पदार्थ बेच्ने गरेको र त्यसो नगर्न सचेत गराउदा कुटपिट हुनु गम्भीर कमजोरी भएको भन्दै ठाकुरले विज्ञप्तीमार्फत सम्बन्धित सरोकारवालाहरुको ध्यान खिचेका छन् । अखाद्य वस्तु बेचेर समग्र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भईरहेको भन्दै ठाकुरले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन तथा जिल्ला अनुगमन समिति, प्रहरी, नगरपालिका, उद्योग बाणिज्य सङ्घ र सचेत उपभोक्ताले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।