किराती उद्गमस्थल तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचीमा राख्न माग 

१ दिन अघि

२0८२ जेष्ठ १९ आईतवार
किराती उद्गमस्थल तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचीमा राख्न माग 

हलेसी (खोटाङ), जेठ १८

किराती समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ र ७ को सीमानामा पर्ने तुवाचुङ जायजुङक्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न स्थानीले माग गरेका छन् । शनिबार आयोजित साकेला उभौली तथा ‘तुवाचुङ दिवस’को अवसरमा ३ चुलाको विधिवत पुजा आराधना गर्दै उनीहरुले सो ठाउँलाई विश्व सम्पदा सूचीमा राख्न मा गरेका हुन् । 


३ चुलाको पुजा, त्यहाँ स्थापित तयामा खियामा र रैछाकुलेलाई पितृ तर्पण गर्दै जम्मा भएका भक्तजन हरुले किराती सभ्यताको सिंहावलोकन गरे । साकेला उभौली (धिरीनाम ५०८५) अवसर पारेर नगरप्रमुख बिमला राई, किराती धामी (विजुवा) र सामाजिक तथा राजनीतिक अगुवाहरुले पुजा आराधना र पितृपुर्खा तर्पण गरी सभ्यताको सिंहावलोकलन गरेका हुन् । 


हलेसी तुवाचुङ १ अर्खौले र ७ महादेवस्थान सीमानास्थित तुवाचुङ जायजुङमा किराती समुदायको श्रृष्टिकर्ता पुर्खाहरु तयामा, खियामा र जायजुङको उत्पत्ति भएको किराती बेद मुन्दुममा उल्लेख छ । सो ठाउँ सम्पूर्ण किराती समुदायको उद्गमस्थल भएको भन्दै किराती सभ्यताको प्रतिक ३ चुलामा पुजा गर्दै साकेला सिली नाच्दै ‘तुवाचुङ दिवस’ भव्यरुपमा मनाइयो ।


‘तुवाचुङ जायजुम संरक्षण समिति, खोटाङ’को आयोजनामा सो ठाउँमा वैशाख पूर्णेपछिको औँसी पञ्चमीका दिन प्रत्येक वर्ष साकेला उभौली अर्थात ‘तुवाचुङ डे’ यो वर्ष वविध कार्यक्रमका साथ विशिष्टरुपमा मनाइएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सँस्थापन इतर नेता डा. शेखर कोइरालासमेत उपस्थित थिए । 


कार्यक्रमा जिल्ला समन्वय प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई र संरक्षण समितिका महासचिव दिनेश राईलगायत विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि र सामाजिक अगुगाहरुले किराती पुर्खाहरु तयामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको ठाउँ भएकाले तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न माग गरे । यो ठाउँको संरक्षण, विकास र प्रवद्र्धनका लागि राज्यले कन्जुस्याँई गरिरहेको गुनासो गर्दै उनीहरुले नेता कोईरालालाई त्यसका लागि पहल गर्न आग्रह गरे ।


मेयर राईले किरात उद्गमस्थल र तयामा, खियामा, जायजुङ र रैछाकुलेको उत्पपत्तिस्थल पनि रहेको हलेसी किरात, हिन्दु र बौद्ध सभ्यताको विश्वप्रसिद्ध त्रिधार्मिकस्थलसमेत भएकाले विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सबै प्रकारले सुहाउने बताईन् । त्यसका लागि सबै राजनीतिक दलमार्फत सरकारको ध्यानाकर्षण गराउन मेयर राईको आग्रह थियो । 


नेता कोईरालाले स्थानीयको आग्रह स्वीकार्दै हलेसीलाई विश्व सम्पदा सूचीमा पार्ने प्रयास गर्न लागीपर्ने बताए । आफु पहिलो पटक आएको यो ठाउँको ऐतिहासिक, पुरातात्विक, सामाजिक र पर्यटकीय संभावना प्रचुर देखेको भन्दै कोइरालाले यसको संरक्षण र विकास गर्दै सम्पदा सूचमा पार्न प्रयास गर्ने प्रतिवद्धाता जनाए । 


त्रिधार्मिकस्थलभन्दा केही माथि रहेको तुवाचुङ जायजुङमा नेपालसहित भारतका दार्जिलिङ र सिक्किम प्रान्तका किरात राई समुदाय बाक्लो रुपमा पूजाआजा र दर्शनका लागि आउने गरेका छन् । संरक्षण समितिका महासचिव दिनेश राईका अनुसार उभौलीमा देश विदेशबाट बाक्लो रुपमा आउने भक्तजन पर्यटकले १ महिनासम्म त्यहाँ बाक्लो उपस्थितिमा पुजाआजा गर्ने गरेका छन् । त्यस्तै मङ्सिरको उधौलीमा पनि भक्तजनको उत्तिकै पुजाआजा गर्ने सो ठाउँमा पछिल्लो दशकयता १२ महिनै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने गरेको महासचिव राईले बताए । 


शनिबार काँग्रेस नेता कोइरालाले उद्घाटन गरेको ‘तुवाचुङ डे’ साकेला सिली बृहत प्रदर्शनीमा खोटाङ र उदयपुरका विभिन्न स्थानीयतहका १३ समूहले सहभागिता जनाएको आयोजक संरक्षण समितिले जनाएको छ । 

क्याप्सनः तुवाचुङ जायजुङमा उभौली मान्न भेला भएका भक्तजन पर्यटक ।