२ दिन अघि
२0८२ जेष्ठ २१ मंगलवारउदयपुर, जेठ २०
सालतमामी (असार मसान्त) नजिकिदै गर्दा जिल्लाका स्थानीयतहहरुको आन्तरिक आमदानी (राजश्व) सङ्कलन धीमा गतिमा भईरहेको छ । बितेको साउन–वैशाख मसान्तसम्मको आन्तरिक आय सङ्कलन हेर्ने हो भने अपबादबाहेक पालिकाहरुले राजश्व सङ्कलनमा लक्ष्य चुम्ने संभावना निकै कम देखिएको छ ।
सबभन्दा बढी राजश्व सदरमुकाम त्रियुगा नगरपालिकाको लक्ष्य १४ करोड ५२ लाख २० हजार उठाउने लक्ष्य नगरसभाले लिएको छ । जसमध्ये वैशाख मसान्तसम्ममा त्रियुगाको राजश्व ९ करोड २१ लाख २१ हजार सङ्कलन भएको लेखा अधिृकत बिनया बस्नेतले बताएकी छिन् । उनका अनुसार जेठ र असार सिंगै महिना बाँकी रहेकाले नगरसभाले गरेको अनुमानित लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ ।
अधिकृत बस्नेतका अनुसार वैशाख मसान्तसम्मको राजश्व सङ्कलन ६३.४३ प्रतिशत हो । गतवर्ष पनि नगरपालिकाले आन्तरिक आमदानीमा धोका खाएको थियो । गतवर्ष १२ करोड आन्तरिक आय हुने प्रक्षेपण गरेकोमा ३ करोड नै कम उठेको थियो । त्यस्तै हुँदाहुँदै पनि चालुवर्षको राजश्व गतवर्षभन्दा २ करोड बढी नै अनुमान गरेको नगरपालिकाले अहिलेसम्म सन्तोषजनक उठिरहे पनि लक्ष्य चुम्न सकछ सक्दैन भन्ने यकिन भने छैन ।
जिल्लाको चौदण्डीगढी नगरपालिकाले भने उत्साहजनक राजश्व सङ्कलन भईरहेको जनाएको छ । हालसम्म ८५ प्रतिशत राजश्व उठाईसकेको चौदण्डीगढीले चालुवर्षको जेठ १५ गतेसम्म १ करोड ३४ लाख ३ हजार ७ सय १४ रुपैँया राजश्व सङ्कलन गरेको छ । नगरसभाले चालुवर्ष १ करोड ५६ लाख ६६ हजार ७ सय ५१ रुपैँया सङ्कलन गर्ने लक्ष्य लिएको लेखा अधिकृत महेश रानामगरले बताएका छन् । हालसम्मको सङ्कलन प्रतिशत ८५ हुनु उत्साहजनक भएको भन्दै लक्ष्य प्राप्ती सजिलै हुने उनको विश्वास छ ।
चौदण्डीगढीका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सालतमामी सकिन झण्डै डेढ महिना समयावधि बाँकी रहेकाले लक्ष्य सहजै छुने बताए । अहिलेसम्म ८५ प्रतिशत लक्ष्य हासिल भईसकेकाले प्रक्षेपणभन्दा पनि बढी नै राजश्व उठ्ने अनुमान गर्न सकिने उनको विश्वास छ । आन्तरिक आमदानी हुने केही नयाँ ठेक्काहरु भर्खर लागेको र आर्थिक वर्षको अन्त्यतिर द्रुतगतिमा राजश्व उठ्ने भएकाले पनि लक्ष्य सहजै हासिल भएरु त्योभन्दा बढी पनि राजश्व उठ्ने अपेक्षा गरेको उनले बताए ।