१ महिना अघि
२0८२ बैशाख ४ बिहीबारउदयपुर, वैशाख ४
नयाँवर्ष ०८२ को अवसरमा उदयपुरको रौतापोखरीमा सम्पन्न ‘अन्तरपालिकास्रीय भलिबल प्रतियोगिता ०८२’को उपाधि आयोजक रौतापोखरी युवा क्लबले जितेको छ । जिल्लाको प्रमुख पर्यटकीयस्थल रौतामाई गाउँपालिका ६ स्थित रौता पोखरीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपाली सेनालाई हराउँदै आयोजकले उपाधि हात पारेको हो ।
नयाँ वर्ष ०८२ को स्वागतार्थ रौतामाई गाउँपालिका ६ नं. वडा कार्यालयको प्रायोजनमा सम्पन्न प्रतियोगिताको तेस्रो स्थान रौतामाई ५ हात्तिपाईले समूहले प्राप्त गरेको छ । आयोजकबाट ए, बी, सी र डी गरी ४ सहित जम्मा १६ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।
आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष बिपन मगरका अनुसार प्रतियोगितामा रौतामाईका भुट्टार, सिम्ले, हात्तीपाईले, पोखरी र सिरवानी काभ्रेलगायत विभिन्न समूहको सहभागिता थियो । खुल्ला र अन्तरपालिकास्तरीय भएकाले प्रतियोगितामा छिमेकी ताप्ली गाउँपालिका ५ को रुपाटार, त्रियुगा नगरपालिका ६ लालपत्ता, त्रियुगा ७ चुहाडे, त्रियुगा १५ खाँबु तथा गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणको टिमसमेत सहभागी थिए ।
वैशाख १ गते गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले उद्घाटन गरेको प्रतियोगिता विजेता टिम र खेलाडीलाई बुधबार आयोजित समापन कार्यक्रममा ६ नं. वडाध्यक्ष पृथ्वीबहादुर राईले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे । वडाध्यक्ष राईले विजेता टिमलाई ट्रफीसहित ३५ हजार नगद प्रलान गरे पनि उपविजेता पशुपति गण तथा तेस्रो हुने हात्तीपाईले समूहलाई क्रमशः २५ हजार र १५ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।