माओबादी रौतामाई अध्यक्षमा खिलराज

३ हप्ता अघि

२0८२ बैशाख १५ सोमबार
माओबादी रौतामाई अध्यक्षमा खिलराज

भुट्टार, वैशाख १५

नेकपा (माओवादी केन्द्र) रौतामाई गाउँपालिका अध्यक्षमा खिलराज राई चयन भएका छन् । पार्टीको तेस्रो अधिबेशनबाट निर्वाचित गाउँ कमिटीको पछिल्लो बैठकले राईको अध्यक्षतामा पदाधिकारी चयन गरेको हो । 

 

फागुन २७ गते सम्पन्न अधिवेशनले ४१ सदस्यीय गाउँपालिकास्तरीय कमिटी सर्वसम्मत चयन गरेको थियो । तर, अध्यक्षका आकांक्षी धेरैजना देखिएपछि पदाधिकारी चयन प्रक्रिया रोकिएको थियो । झण्डै डेढ महिनापछिको रस्साकक्सीपछि बसेको कमिटी बैठकले पदाधिकारी ३ नं. वडा लाफागाउँका राईलाई अध्यक्ष बनाउँदै पदाधिकारी टुङ्ग्याएको हो । 

 

बैठकले कमिटीको दुई उपाध्यक्षमा २ नं. भुट्टारका भरतमणि दाहाल र रामकुमार लायो मगरलाई चयन गरेको छ भने महिला उपाध्यक्षमा ७ नं. वडाकी कमला रोक्का छानिएकी छिन् । सचिवमा ७ नं. कै उद्धवकुमार राउत, सहसचिव ८ नं. का रुद्रबहादुर रिखाम मगर तथा कोषाध्यक्ष ६ नं. का गङ्गाबहादुर मगरलाई चयन गरेको छ । 

 

रौतामाई ६ नामन्तमा सम्पन्न बैठकले टुङ्ग्याएको पदाधिकारी र कमिटीलाई पार्टी प्रदेश सदस्य काजीमान तामाङ (जिज्ञाशा), योङ कम्युनिष्ट लिग (वाईरिएल) नेपालका केन्द्रीय उपमहासचिव एबिराज राई र निवर्तमान गाउँ पार्टी अध्यक्ष तथा गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले सपथ गराए ।  

 

सपथ लिने क्रममा अध्यक्ष राईले माओबादी पार्टीलाई रौतामाई गाउँपालिकाको सशक्त राजनीतिक दलको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि ८ वटै वडा र टोलसम्म सङ्गठन निर्माण गर्ने, नेता कार्यकताहरुलाई जनतासँग जोडेर जनसम्बन्ध स्थापित गर्ने, जनजीवन सहज बनाउने गरी विकास निर्माणका काम अघि बढाउने तथा पार्टी सचेतना जागरण कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

 

नेपाली जनताको मुक्तिको एक मात्र बैकल्पिक शक्ति भनेकै नेकपा माओबादी भएको बताउँदै अध्यक्ष राईले त्यसका लागि नेता, कार्यकर्तादेखि सम्पूर्ण जनवर्गीय सङ्गठनहरु च्लायमान बनाउने प्रतिबद्धता जनाए । आगामी ०८४ को ३ वटैतहको निर्वाचनमा देशको सबभन्दा ठूलो दल माओबादीलाई बनाउने अर्जुन दृष्टिका साथ अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरेका छन् ।