३ हप्ता अघि
२0८२ बैशाख १६ मंगलवारजलजले, वैशाख १६
६ महिना लामो बन्दपछि भर्खर सुचारु भएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले विद्युत अवरोधका कारण सुरुमै मारमा परेको छ । गत विहीबार मात्र फाईरिङ भएर सुचारु गएिको उद्योग २४ घण्टा नबित्दै पटकपटक विद्युत अवरोध हुने गर्दा एउटा मेसिन बिग्रनुका साथै २ दिनमै बन्द हुन पुगेको थियो । बिहीबार १०ः४० बजे किल्न फाईरिङ भएको उद्योगले पहिलो २४ घण्टामा २ सय मेट्रिकटन क्लिङकर उत्पादन गरेको थियो ।
तर, शुक्रबार विहानदेखि पटकपटक अवरोध भएको विद्युत शनिबार पनि यथावत रहेपछि उद्योगको एउटा मेसिन बिग्रन पुगेको निमित्त महाप्रबन्धक महेश साहले बताए । उनका अनुसार सुचारु भएको ३० घण्टामै विद्युत अवरुद्धले आईतबार बिग्रेको मेसिन मर्मत गर्नुपर्दा मङ्गलबार विहान मात्र फाईरिङ भएको छ । फाईरिङपछि अहिले उद्योग चल्न थालेको भए पनि कतिखेर विद्युत अनियमित हुने ठेगान नभएको साहले बताए ।
बिहीबारदेखि सुचारु भएको उद्योग शनिबार नेपाल विद्युत प्राधिकरणले रुखका हाँगाविगा काट्ने भन्दै ६ घण्टा घोषित विद्युत अवरुद्ध गरेको थियो । भोलिपल्ट आईतबार राति १२ बजे चट्याङ परेर उद्योग नजिकै रहेको जलजलेस्थित सबस्टेशनमा हानेपछि थप १७ घण्टा विद्युतविहीन हुनु परेको साहले बताए । ‘पहिलो फाईरिङले चलिरहेको उद्योग शनिबार मेसिन बिग्रेपछि आईतबार राति फाईरिङ गर्ने गरी मर्मत सकेर तयारी भईरहेको थियो’ साहले भने ‘तर, त्यै बेला चट्याङले सबस्टेशनमै हानेर आईतबार मात्र फाईरिङ गर्नु परेको हो ।’
जिएम साहले विद्य्ुत अवरोधका बीच पनि पहिलो २४ घण्टामा २ सय ५० मेट्रिकटन क्लिङ्कर उत्पादन गरेको उद्योगले दोस्रो २४ घण्टाभित्र १ सय ५० मेट्रिकटन मात्र उत्पादन गरेको छ । यो फाईरिङपछि बीचमा विद्युत अबरोध नभए २४ घण्टामा ३–४ सय मेट्रिकटनका दरले क्लिङ्कर उत्पादन हुने अपेक्षा गरिएको उनले सुनाए ।
अनियमित विद्युत अबरोधले उद्योगलाई लाखौँ घाटा लाग्ने गरेको छ । एकपटक किल्न फाईरिङ गर्दा कम्तीमा डेढलाख रुपैँयाबराबरको कच्चा पदार्थ, डिजल र अन्य सामग्री खर्च हुने भएकाले सरासर उद्योग चल्न विद्युत नियमित सुचारु हुनुपर्ने साह बताउँछन् ।