यातायातको ९ महिने राजश्व पौने ९ करोड

३ हप्ता अघि

२0८२ बैशाख १७ बुधबार
यातायातको ९ महिने राजश्व पौने ९ करोड

उदयपुर, वैशाख १७

यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिकवर्षको ९ महिना अवधिमा झण्डै ९ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि चैत मसान्तसम्मको राजश्व रकम ८ करोड ७६ लाख २१ ह्जार २ सय १७ रुपैँया सङ्कलन भएको हो । 


यातायात कार्यालयले ४ वटा शीर्षकमा राजश्व उठाउदै आएको छ । जसमध्ये सबभन्दा धेरै राजश्व सवारी साधन करवापत उठेको छ । कार्यालय प्रमुख गोपाल दाहालका अनुसार सवारी करवापत ९ महिना अवधिमा ं६ करोड ९६ लाख ८७ हजार ४ सय ९० रुपैँया उठेको हाकिम दाहालले बताए । चैत महिनामा मात्र १ करोड ६८ लाख २६ हजार १ सय २५ रुपैँया उठेको उनको भनाई छ । 


त्यसैगरी दोस्रो ठूलो आकारको राजश्व चालक अनुमतिपत्र (लाईसेन्स) तथा सवारी दर्ता किताव (ब्लुबुक) सम्बन्धी सेवावापत १ करोड  ५१ खाख ४५ हजार ६ सय ६५ रुपैँया जम्मा भएको छ । यो शीर्षकको राजश्व चैतमा मात्र २६ लाख ३८ हजार ९ सय ५० सङ्कलन भएको दाहालले बताएका छन् ।   


कार्यालयले अन्य दुई शीर्षकहरु यातायात क्षेत्रको आमदानी र व्यवसायक रजिस्टे«सन दस्तुर पनि लिने गरेको छ । जस अनुसार यातायात क्षेत्रको आमदानीवापत ९ महिना अवधिमा २६ लाख ९१ ह्जार ३ सय ७३ सङ्कलन भएको छ । यो शीर्षकको राजश्व चैतमा ३ लाख ४१ हजार ९० रुपैँया जम्मा भएको छ । त्यस्तै व्यवसाय रजिस्ट्रेसनवापत चैतमा १३ हजार ७ सयसमेत गरी चैतसम्ममा १ लाख २ हजार ५० राजश्व सङ्कलन भएको छ । 


सूचना अधिकारी गोविन्द तिम्सिनाले यो वर्ष अहिलेसम्म उठेको राजश्व हेर्दा चालुवर्ष गएको आर्थिकवर्षभन्दा बढी जम्मा हुने आँकलन गर्न सकिने बताए । उनका अनुसार आर्थिकवर्ष २०८०–०८१ मा १० करोड ८० लाख ९२ हजार ९ सय ८० रुपैँया राजश्व उठेको थियो । चालुवर्षको ९ महिनामै पौने ९ करोड नाघिसकेकाले निश्चय नै गतवर्षभन्दा बढी राजश्व सङ्कलन हुने अपेक्षा गरिएको तिम्सिनाले बताए । 


आर्थिकवर्ष सकिन अढाई महिना बाँकी रहेकाले पनि गतवर्षभन्दा बढी राजश्व उठ्ने अपेक्षा कार्यालयले गरेको हो । आर्थिकवर्षको अन्तिमतिर झन् बढी काम हुने प्रचलनले पनि यसवर्ष राजश्व बढ्ने कुरामा कार्यालय विश्वस्त रहेको छ ।