सोमबारे दुर्घटनाः घाईतेहरु विराटनगर रिफर

३ हप्ता अघि

२0८२ बैशाख १९ शुक्रबार
सोमबारे दुर्घटनाः घाईतेहरु विराटनगर रिफर

कटारी, वैशाख १९
बिहीबार दिउसो स्कारपियोमा दुर्घटनामा परेर कटारी अस्पतालमा उपचारमा रहेका घाईतेहरुलाई विराटनगर रिफर गरिएको छ । मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको कटारी नगरपालिका ६ सोमबारेमा मे १ च ३०४० नं. को स्कारपियो दुर्घटनाका घाईतेहरुलाई शुक्रबार विहान कटारीबाट न्यूरो अस्पताल विराटनगर रिफर गरिएको हो । 

 

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बिहीबार साँझ ५ः०० बजे भएको दुर्घटनामा परी स्कारपियोमा सवार ७ यात्रुमध्ये ५५ वर्षीय माधव बस्नेतको त्यतिखेरै निधन भएको थियो । दमक ३ का स्थायी बासिन्दा बस्नेत दमक नगरपालिकामा अधिकृतस्तरका कर्मचारी रहेको खुलेको छ । 

 

उनीसँगै घाईते ६ मध्ये चालक दमक ९ का ३८ वर्षीय देबेन्द्र तामाङलाई कटारी अस्पतालमा उपचारपछि इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

 

इप्रका कटारी प्रमुख डिएसपी कमल बजगाईका अनुसार चितवनबाट झापातर्फ जाँदै गरेको स्कारपियो सोमबारेमा आफै अनियन्त्रित भई सडक छेउको फलामे बेरियरमा ठोक्किएर दुर्घटनामा परेको हो । घाईतेहरुको उद्धार गरी उपचारार्थ कटारी अस्पताल लगिएकोमा बस्नेतलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

 

अन्यको उपचार त्यहीँ भईरहेकोमा त्यहाँ संभव नभएपछि न्यूरो रिफर गरिएको अस्पताललाई उद्धृत गर्दै डिएसपी बजगाईले बताए । रिफर हुनेमा दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक २ का ३८ वर्षीय नबिन खतिवडा, दमक ६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक १० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी र झापाकै गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहाल रहेका छन् ।