३ हप्ता अघि
२0८२ बैशाख २0 शनिबारउदयपुर, वैशाख २०
दिनदिनै झाँगिदै गएको लागूऔक्षध प्रयोग, ओसारपसार र विक्रीवितरणको क्रम झनै बढ्दै गएको छ । यसै क्रममा उदयपुरका एक युवासहित सुनसरी, मोरङ र झापाबाट शुक्रबार एकैदिन १३ जना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका १० का २१ वर्षीय अनमोल राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले घरैबाट पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा टोलीले घरमा खानतलासी लिँदा लागूऔषध कोलिवन र ट्रामाडोल ७ सय ३६ ट्याब्लेट र २ सय ५९ ग्राम गाँजा पनि बरामद गरेको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।
शुक्रबारै सुनसरीको धरानबाट ६ जना र झापा र मोरङबाट थप थप ६ जना लागू औषधसहित पक्राउ परेका छन् । मध्येराति पौने १२ः०० बजे वडा प्रहरी कार्यालय धरानको टोलीले धरान महानगरपालिका १ शितल मार्गबाट भोजपरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अङ्गत श्रेष्ठ र ३१ वर्षीय सागर राईलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा खटेको प्रहरीले उनीहरु बस्ने कोठाभित्र लुकाईछुपाई राखेको अवस्थामा ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, निट्राजेपाम र एरोमिङ्क नामक लागूऔषध १० हजार ३ सय १५ पिस, ब्राउनसुगर १ ग्राम ७ सय ६० मिलिग्राम र नगद २ लाख ५३ हजार ७ सय ९६ रुपैँयासहित उनीहरु पक्राउ गरेको हुन् ।
त्यसैगरी शुक्रबारै धरानकै टोलीले धरान १५ को लक्ष्मण मार्गमा डेरा लिई बस्दै आएका धनुषा जनकपुरका २५ वर्षीय राहुल साह र उनकी श्रीमती २४ वर्षीया लक्ष्मी राईलाई पत्रि डेराबाटै नियन्त्रणमा लिएको छ । उनीहरुको कोठाबाट ट्रामाडोल ५ हजार ५० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
धरान १७ सियोन मार्गमा डेरा लिई बस्दै आएकी ४० वर्षीया ममता भगतलाई पनि उनकै कोठाबाट ट्रामाडोल, स्पास्पेन र ओपाडोल नामक लागूऔषध गरी ६ हजार २ सय ८५ चक्की बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबारै लागूऔषध व्युरो बिराटनगरको टोली विराटनगर महानगरपालिका १६ बाट चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका ३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । उता इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी ९ का २५ वर्षीय सुमन राईलाई घरैबाट पास्मीट र ट्रमाडोल २ सय २ ट्याब्लेट र ब्राउनसुगर १२ मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी लागूऔषध व्युरो काँकडभिट्टाको टोलीले झापाको मेचीनगर नगरपालिका ६ बाट मेचिनगर ६ का २९ वर्षीय दिपक मल्लिक, २५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ सबैलाई सम्बन्धित प्रहरी कार्यालयको हिरासत राखेर अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीषक भीमबहादुर दाहालले बताए । शनिबार विदा परेकाले आईतबार अदालतबाट म्याद थपेर कारबाही प्रक्रिया अघि बढाउने एसएसपी दाहालले बताएका छन् ।