२ हप्ता अघि
२0८२ बैशाख २१ आईतवारउदयपुर, वैशाख २१
कक्षा १२ को आईतबारदेखि सुरु पहिलो दिनको परीक्षा मर्यादित र शानितपूर्ण सकिएको छ । उदयपुरका विभिन्न विद्यालय तथा क्याम्पसमा केन्द्र तोकेर सञ्चालित परीक्षाा सुरुका दिन शान्तिपूर्ण सकिएको हो ।
यसवर्ष उदयपुरका ५ हजार २ सय ६१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिदैछन् । परीक्षाका लागि जिल्लाका विभिन्न विद्यालय र क्याम्पस गरी १७ केन्द्र तोकिएको छ । विहान ८ः०० देखि ११ः०० बजेसम्म सञ्चालित परीक्षा सबै केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बताए ।
शिक्षा विकास तथा समन्वय एकाई उदयपुरका अनुसार परीक्षा सञ्चालन गर्न उदयपुरका ८ स्थानीयतहमध्ये पहाडी २ गाउँपालिका लिमचुङबुङ र ताप्लीबाहेक ६ गाउँ/नगरका विद्यालय क्याम्पसलाई केन्द्र तोकिएको छ । समन्वय एकाईकी परीक्षा शाखा प्रमुख मैनाकला लिम्वुका अनुसार सदरमुकाम त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकामा परीक्षा केन्द्र सञ्चालन गरिएको छ ।
जसमध्ये सबभन्दा बढी त्रियुगा नगरपालिकामा ८ वटा परीक्षा केन्द्र सञ्चालन गरिएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, त्रियुगा नमूना मावि गाईघाट, रामजानकी माध्यमिक विद्यालय मोतिगडा, जनता मावि देउरी, अम्वेवर मावि राजावास, जनज्योति मावि चुहाडे, राष्ट्रिय मावि बगाहा र बालमन्दिर मावि बोक्सेमा परीक्षा केन्द्र तोकिएको लिम्बुले बताएकी छिन् ।
पश्चिमभेगका विद्यार्थीका लागि कटारीका त्रिवेणी मावि र गुँरासे मावि त्रिबेणीमा परीक्षा केन्द्र तोकिएको छ । पूर्वतर्फको बेलका नगरका कोशी जनता मावि रामपुर र जनता मावि गुरुङचौरीमा परीक्षा सञ्चालन भईरहेको छ । चौदण्डीगढी नगरका नारद आदर्श मावि वसाहा, थान पोखरी मावि ज्यामिरे र ज्योति मावि बेल्टारमा केन्द्र सञ्चालन भईरहेको छ । गाउँपालिकातर्फ रौतामाईको रौता मावि मुर्कृची तथा उदयपुरगढीको पंञ्चावती मावि उदयपुरगढीमा परीक्षा केन्द्र तोकिएको छ ।
राष्ट्रिय परिक्षा बोर्ड साविक पूर्वाञ्चल कार्यालय लाहानका अनुसार यसवर्ष देशभरका ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले कक्षा १२ को जाँच दिदैछन् । ५ हजार २ सय २ विद्यालयका परीक्षार्थीमध्ये नियमिततर्फ १ लाख ९८ हजार ८ सय ७५ छात्र तथा १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९ सय ८ जना छन् । आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ ।