२ हप्ता अघि
२0८२ बैशाख २३ मंगलवारउदयपुर, वैशाख २३
वैदेशिक रोजगारीका लागि मेलेसिया गएका उदयपुरका एक युवाको शङ्कास्पद निधन भएको भन्दै परिवारजनले छानविनको माग गरेका छन् । विगत ३ वर्षदेखि मलेसियामा कार्यरत त्रियुगा नगरपालिका ८ बैरेनीका ४० वर्षीय भोजु दनुवारको शनिबार रहस्यमय निधन भएको परिवारजनको गुनासो छ ।
आफुलाई कसैले मार्न खोजेको अडियो सन्देश मोवाईलमा पठाएको भोलिपल्टै उनी कोठैमा मृत फेला परेको फोटो आएको श्रीमति बिनिता दनुवारले बताएकी छिन् । उनका अनुसार भोजुले मोवाईलमा सुपरभाईजरका मान्छेले मार्न खोजेको र भित्र बाहिर जहाँ भए पनि मार्ने भएकाले आत्महत्या गर्नु राम्रो भन्ने सन्देश पठाएका थिउ । श्रीमान्ले यस्तो सन्देश पठाएको भोलिपल्टै उनी कोठामै मृत फेला परेको उनले बताएको जिल्ला प्रशासन कार्याय उदयपुरले जनाएको छ ।
काठमाडौँस्थित सप्तकोशी मेनपावर कम्पनीमार्फत ३ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको बिनिताको भनाई छ । श्रीमान्लाई तनाव भएको भए आफुसँग भन्नुपर्ने उनको भनाई छ । तर, उनले पछिल्लो मोवाईल सम्पर्कमा त्यस्तो तनावको कुनै कुरा नगरेको एक्कासी घट्ना हुनुभन्दा २ दिनअघि मात्र आफुलाई मार्न लागेको सन्देश पठाएको प्रशासनमा परेको उजुरीमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले घट्नाबारे जानकारी प्राप्त भएलगत्तै आप्रवासन केन्द्रमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित दुतावासलाई पत्राचार गरिसकेको बताए । आत्महत्या हो या हत्या भन्ने यकिन गर्न त्यहाँको प्रहरी लगाएर पत्ता लगाउन मलेसियन दुतावासलाई पत्र पठाएको भन्दै सिडिओ लुईटेलले केहीदिनभित्र यथार्थ जानकारी हुने बताए ।
सिडिओ लुईटेलले प्रारम्भिक जानकारी अनुसार भोजुले आत्महत्या गरेको भन्ने परिवारबाट जानकारी आएको पनि अडियो सन्देशमा मार्ने भन्ने रहेकाले हत्या हुनसक्ने आशङ्का पनि उत्तिकै गर्न सकिने बताएका छन् । त्यसैले यस विषयमा छानविन गरेर हत्या वा आत्महत्या पत्ता लगाउन दुताबासलाई पत्राचार गरिएको उनको भनाई छ । हत्या वा आत्महत्या जे भए पनि ज्यान गईसकेको र वैदेशिक रोजगारीमा जाँदा आवश्यक श्रम स्वीकृति लिएर नै गएकाले मृतक परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउन कानुनी प्रक्रिया अघि बढाउन दुतावाससँग आग्रह गरेको लुईटेलले बताए ।
भोजुको मृत शरिर स्थानीय अस्पतालमा राखिएको र नेपाली दुतावासको अनुमतिपछि पोष्टमार्टम गरेर नेपाल भिकाउने प्रक्रिया चलिरहेको छ । त्यसका लागि २÷३ दिन लाग्ने र त्यसपछि मात्र शव नेपाल ल्याउन मिल्ने प्रशासनको भनाई छ ।