बाख्रा चराउन गएका बालक चट्याङ लागेर निधन

२ हप्ता अघि

२0८२ बैशाख २३ मंगलवार
बाख्रा चराउन गएका बालक चट्याङ लागेर निधन

कटारी, वैशाख २३

कटारीका एक बालकको बाख्रा चराउन गएका बेला चट्याङ लागेर निधन भएको छ । सोमबार दिउसो बाख्रा चराउन घर नजिकै जङ्गल गएका कटारी नगरपलिका ८ फुलबारीका १३ वर्षीय चित्रबहादुर बलम्पाकी मगरको चट्याङले निधन भएको हो । 


चित्र स्थानीय मानबहादुर मगरका छोरा भएको र बाख्रा चराउन जङ्गल गए पनि रातिसम्म नफर्केपछि खोज्दै जाँदा डढेको मृत शरिर फेला परेको हो । छोरो नफर्केपछि खोज्दै जाँदा बाख्रा चर्ने जङ्गलमा डढेको अवस्थामा भेटिएकाले चट्याङले ज्यान गएको निश्कर्षमा पुगेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजागाईले बताए । 


उनका अनुसार बाख्रा चराउन गएका बेला जङ्गलमै चट्याङ लागेर चित्रको निधन भएको अनुमान छ । घर नफर्केको चित्रलाई खोज्दै जाँदा  जङ्गलमा पुरै कालो भएर डढेको शरिर भुईमा लडिरहेको भेटिएकाले चट्याङले नै निधन भएको हो । 


मङ्गलबार मृतकको शब पोस्टमार्टमका लागि कटारी अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी बजगाईले बताएका छन् ।