२ हप्ता अघि
२0८२ बैशाख २५ बिहीबारखोटाङ, वैशाख २५
नेकपा (माओबादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती छापनका छन् । बुधबार सम्पन्न प्रथम वाईसिएल जिल्ला सम्मेलनले किराती नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कमिटीका ३ उपाध्यक्षमा क्रमशः चेवन बुधाथोकी, जीवनज्योति राई र मीनाकुमारी घिमिरे (बुधाथोकी) छानिएका छन् भन सचिव सुजेन राई छानिएका छन् । ३ सहसचिवमध्ये विजय राई र राजेश प्रधान तथा कोषाध्यक्ष वुद्धिकुमार राई चयन भएको र एक महिला सहसचिव जन्तेढुङ्गाबाट पूर्ति गर्नेगरी रिक्त राखिएको निर्वाचन मण्डलले बताएको छ ।
सदरमुकाम दिक्तेलस्थित शहीद दिलकाजी–ठूलकुमार स्मृति भवन दिक्तेलमा वाईसिएल केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ले बिहीबार नवनिर्वाचित कमिटीलाई पद तथा गोपणीयताको शपथ गराए । नवगठित कमिटी अध्यक्ष किरातीले जिल्ला कमिटीमा खोटाङका १० वटै स्थानीयतहका वाईसिएल प्रतिनिधिलाई समेटिएको बताएका छन् ।
जिल्ला सम्मेलन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व साँसद् टङ्क राईले उद्घाटन गरेका थिए । सो क्रममा राईले देश बनाउने जिम्मा युवाहरुको काँधमा रहेको भन्दै त्यसको अग्रभागमा वाईसिएल नेपाल हुनुपर्नेमा जोड दिए । वाईसिएल माओवादीको प्रमुख भातृ सँस्था भएको भन्दै उनले यसले मात्र देश कसरी समृद्ध बनाउने भन्ने निक्र्यौल गर्ने बताए । अहिलेको सङ्घीय गणतन्त्रात्मक नेपालको जननी माओबादी केन्द्र रहेको भन्दै अध्यक्ष राईले देशलाई विकसित शान्त र समृद्ध बनाउने जिम्मा माओवादीकै भएकाले वाईसिएलले त्यसनिम्ति सँधै सजग भएर अघि बढ्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र नेतृ दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य तथा फ्रयाक्सन इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’लगायत उपस्थिति थिए । वाईसिएलका निवर्तमान खोटाङ अध्यक्ष किसान राई ‘दोबालिछा’को अध्यक्षतामा भएको सम्मेलन ृउद्घाटन गर्नुअघि युवाहरुको जमातले विभिन्न नाराजुलुससहित दिक्तेल बजारमा मोटरसाइकल ¥याली निकालेका थिए ।