२ हप्ता अघि
२0८२ बैशाख २७ शनिबारखोटाङ, वैशाख २७
आजदेखि सुरु भएको खेलकुद तथा साहित्यिक महोत्सवले खोटाङ सदरमुकाम दिक्तेल खचाखच भरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा शनिबारदेखि सुरु ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’मा भाग लिन धेरै ठाउँबाट सहभागी प्रतिस्पर्धी भित्रिएका छन् ।
जेठ ४ गतेसम्म चल्ने ६ दिने महोत्सवको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पिके) र दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले म्याराथुन दौडेर उद्घाटन गरेका छन् ।
आयोजक प्रतिष्ठानका अध्यक्ष सञ्जय राईका अनुसार महोत्सवमा विभिन्न ६३ पदकका लागि १३ इभेन्टमा प्रतिस्पर्धा गराइनेछ । एथलेटिक्स विधामा खुला महिला/पुरुष हाफ म्याराथन दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगितामा स्पर्धा हुनेछ । उद्घाटनका दिन खुला हाफ म्याराथनसहित एथलेटिक्सका सबै प्रतियोगिता सञ्चालन हुनेछ ।
२१ किलोमिटर दूरी दौडमा प्रतिस्पर्धा गराइने हाफ म्याराथुनमा नेपाली सेना, जनपद र सशस्त्र प्रहरी क्लबसमेत विभिन्न जिल्लाका ३५ जना धावकको सहभागिता रहेको छ । विजेतालाई ७७ हजार ७ सय ७७ रुपैँया दिइको म्याराथनका उपविजेतादेखि सातौँ स्थानसम्म पाउनेलाई पुरस्कार व्यवस्था छ । जस अनुसार दोस्रोलाई ५५ हजार ५ सय ५५, तेस्रोले २५ हजार ५ सय ५५, चौथो, पाँचौ, छैटौ र सातौँलाई क्रमशः १५ हजार ५ सय ५५, ११ हजार १ सय ११, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
सदरमुकाम दिक्तेल र दोस्रो व्यापारिक नाका त्रिधार्मिकस्थल हलेसी तुवाचुङ २ नगरसहित १० स्थानीयतह रहेको खोटाङमा १० वर्षमुनिका छात्रछात्रादेखि उमेर सीमाहिन प्रौढसम्मले प्रतिस्पर्धा गर्न पाउने चाँजापाँजो आयोजकले मिलाएको छ ।
१० वर्ष मुनिकालाई १ किलोमिटर, १२ वर्षमुनिका लागि २ किलोमिटर, १५ वर्षमाथिका लागि १० किलोमिटर र ६० वर्षभन्दा माथिका पुरुष प्रतिस्पर्धीका लागि २ किलोमिटर दूरीको म्याराथुन तोकिएको छ । त्यस्तै आमा (महिला)हरुको लागि ५ किलोमिटर, १२ देखि १५ वर्षमुनिका छात्रछात्राका लागि ७ किलोमिटर तोकिएको छ । ३५ वर्षमाथिका राजनीतिकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीले भने जुनसुकै दूरीको दौडमा भाग लिन पाउनेछन् ।
१० वर्षमुनिका प्रतियोगिता विजेतालाई क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार दिइनेछ । त्यस्तै १२ वर्षमुनिका प्रथम, दोस्रो र तेस्रोले ४ हजार, ३ हजार र २ हजार ५ सय पाउनेछन् । ६० वर्षमाथिका २ किलोमिटरमा भाग लिने पुरुष र ५ किलोमिटर जित्ने आमालाई क्रमशः ५ हजार ५ सय, ३ हजार ५ सय र २ हजार ५ सय पुरस्कार दिइनेछ । १२ देखि १५ वर्षमुनिका ७ किलोमिटर विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः ७ हजार ५ सय, ६ हजार ५ सय र ५ हजार ५ सय पाउनेछन् ।
३५ वर्षमाथिका राजनीतिकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको स्पर्धातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार दिइनेछ । १० किलोमिटरमा भाग लिने १५ वर्षमाथिका महिला/पुरुष विजेता प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार दिइनेछ ।
महोत्सव अन्तर्गत वैशाख ३० र ३१ गते खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचालमा प्रतिस्पर्धा गराइनेछ । बुद्धिचाल जिल्ला समन्वय समितिको सभाहलमा र टेबलटेनिस दिक्तेल माटिकोरे खेलमैदानस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन गरिनेछ । टेबलटेनिस सिनियर र जुनियरमा विभक्त गराई प्रतिस्पर्धा गराइनेछ ।
खेलकुदबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियक्षेत्रमा परिचित गराउने तथा पर्यटकीय जिल्लाको रुपमा स्थापित गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राईले बताए । उनले खोटाङलाई खेलकुदक्षेत्रमा आगामी सन् २०५० भित्र ओलम्पिक पदक जित्ने हैसियतमा पुर्याउने लक्ष्य पनि महोत्सवले लिएको छ ।