बसपार्कको अबैध घरटहरामाथि नगरपालिकाको डोजर

१ हप्ता अघि

२0८२ जेष्ठ ३ शुक्रबार
बसपार्कको अबैध घरटहरामाथि नगरपालिकाको डोजर

उदयपुर, जेठ २ 

त्रियुगा नगरपालिकाले त्रियुगा बसपार्कक्षेत्रमा निर्मित अबैध संरचनामाथि डोजर चलाएको छ । नगरले बिहीबार वडा नं. ३ स्थित बसपार्कक्षेत्रको बसोबास गर्दैआएका आधादर्जन बढी अबैध घरटहरा डोजर लगाएर भत्काएको हो । 


नगरपालिकाले बुधबार मात्र सूचना जारी गर्दै ३ दिनभित्र अवैध संरचना आफैले हटाउन सचेत गराउँदै अन्यथा जवरजस्ती भत्काउने चेतावनी दिएको थियो । तर, ३ दिन नबित्दै (भोलिपल्ट) नगरले संरचनामाथि डोजर चलाएको हो । बुधबार अपरान्ह जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले नगर प्रहरी, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहयोगमा बसपार्कक्षेत्र पुगेर त्यहाँ निर्मित ९ वटा घर टहरा भत्काइएको छ ।


नगरपालिकाले सत्यदेव दास चौधरी, बलदेव दास चौधरी, शङ्कर चौधरी, हरिहरवति चौधरी र शर्मिला चौधरीको पक्की र अद्र्धपक्की घर टहरा भत्काएको छ । उनीहहरुसँगै निरबहादुर रोक्का र श्यामकुमार चौधरी तथा घरधनी पत्ता नलागेको सोनु चौधरी र सञ्जयवती चौधरी भाडामा बस्दै आएको घर टहरा र  सार्वजनिक शौचालयमाथि पनि डोजर चलेको छ । 


वडाध्यक्ष तिलक कटुवालका अनुसार धेरै पहिलादेखि अबैध संरचना भत्काउन सूचित गरे पनि अटेर गर्दै बस्दै आएको सरकारी जमिन खाली गराउँन डोजर लगाउनु परेको बताए । उनका अनुसार निर्माणाधीन बसपार्कको जमिन ओगटेर संरचना निर्माण गरी बसेकाले भत्काउनु परेको हो । राम्रो मुखले कतिपटक भन्दा र पत्राचार गर्दासमेत बेवास्ता गरेपछि नगर कार्यपालिका बैठक निर्णय गरेर डोजर लगाइएको वडाध्यक्ष कटुवालले बताए । 


नगरप्रमुख बसन्त बस्नेतले त्रियुगा नदी किनारको ऐलानी जमिन ओगटेर बस्दै आएको लामो समय भएको भन्दै बाध्य भएर डोजर लगाउनुपरेको बताए । त्यहाँका वास्तविक सुकुम्बासीलाई अर्को ठाउँमा सार्ने गरी घर टहरा भत्काइएको बताउँदै मेयर बस्नेतले भत्काइएका घर टहराको जमिनको आधा भाग नगरपालिकाले उपलब्ध गराउने बताए । 


‘यहाँ बसोबास गर्दै आएकाहरुलाई आधा जमिन दिइनेछ । जस्तो २ कठ्ठा ओगटेकालाई १ कठ्ठा र १ कठ्ठावालाललाई १० धुर दिने हाम्रो योजना छ’ मेयर बस्नेतले भने ‘घर टहरा भत्काएर कसैलाई अलपत्र पारिनेछैन । बसपार्कको जमिन भएकाले सुरक्षित गर्न घर टहरा हटाउनु परेको हो ।’


संरचना हटाइएको जमिन निर्माणाधीन अत्याधुनिक त्रियुगा स्मार्ट बसपार्कको हो । झण्डै दशकदेखि निर्माण भईरहेको बसपार्क पूर्णता दिन अवैध संरचनाले अवरोध गरेकैले यस्तो कठोर कदम चाल्नु परेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख महेश्वरी राईले वर्षौँदेखि नगरपालिकाको ऐलानी नथा सार्वजनिक जमिन ओगटेर अबैध संरचना निर्माण गर्ने काम भईरहेकाले त्यस्तो जमिनको संरक्षण गर्न थालेको बताईन् । सरकारी जमिनको सुरक्षा र सुकुम्बासीको स्थायी व्यवस्थापन गर्ने नगरपालिकाको नीति बमोजिम अघि बढेको उनले बताएकी छिन् । 


नगरपालिकाले बसपार्कपछि हवाईफिल्डक्षेत्रको अवैध संरचना भत्काउने जनाएको छ । पडा नं. १३ को हवाईफिल्डमा निर्माणाधीन १५ सय क्षमताको सभाहलको जमिन अतिक्रमण गरी बनाइएका आधादर्जन बढी घर टहरा भत्काउने योजना नगरपालिकाले बनाएको छ । नगर सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले बसपार्कपछि हवाईफिल्ड र अन्य ठाउँका अबैध संरचनाहरु पनि भत्काउने कार्यपालिका निर्णय भएको बताए । 


प्रचण्ड गर्मीयाममा नगरपालिकाले घर टहरा भत्काएपछि बालबालिका र बृद्धबृद्धालाई भने असुविधा भएको स्थानीयले बताएका छन् । घर टहरा भत्काउन थालेपछि रुवाबासी र चिच्याहट चलेको थियो भने अवरोध गर्नेहरुलाई टोलीले निर्ममतापूर्वक लछारपछार र हातपात गरेकोमा पनि स्थानीयले दुखेसो गरेका छन् । २०–२५ वर्षदेखि बस्दै आएको घर भत्काउन खोजेपछि हात जोडेर बिन्ती गर्दा ८/१० जनाले लछारपछार गर्दै घिसारेर गाडी (प्रहरी भेन)मा हालेको उनीहरुको गुनासो छ । 


प्रत्यक्षदर्शीहरुले घर टहरा भत्काउने क्रममा अमानवीय व्यवहार देखाइएको भन्दै गुनासो गरेका छन् । कसैलाई लछारपछार, कसैलाई घोग्रेठ्याक लगाइएको तथा जवरजस्ती तानेर प्रहरी भेनमा खाँदेको दृष्य निकै दर्दनाक भएको प्रत्यक्षदर्शीको भनाई छ ।