अमेरिकामा साकेला थान स्थापना

१ हप्ता अघि

२0८२ जेष्ठ ३ शुक्रबार
अमेरिकामा साकेला थान स्थापना

न्युयोर्क, जेठ २

किराँती समुदायको महान चाड साकेला उभौली (धिरिनाम) ५०८५ को अवसर पारेर संयुक्त राज्य अमेरिकामा साकेला भुमेस्थान स्थापना भएको छ । अमेरिकामा विभिन्वान पेशा व्यपसाय गर्दै बसेका नेपाली  किराती राईहरुको साँस्कृतिक सँस्था 'युनाईटेड किरात राईअर्गनाईजेसन अफ अमेरिका'ले किरात सुप्तुलुङ र साकेला भूमेस्थानको स्थापना गरेको हो ।

 

बेशाखे पूर्णिमाबाट सुरु हुने साकेला उभौलीको अवसर पारेर मे १२ २०२५ का दिन राईहरुको साँस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधामको रुपमा मानिने सुप्तुलुङ र साकेला भूमेस्थानको स्थापना गरिएको हो ।

 

अमेरिकाको १४ पेङ हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा गत १४ जनवरी, २०२५ मा सँस्थाले किनेको ८.०२ एकड क्षेत्रफल भूमिमा मुन्दुमी विधी र प्रक्रियाबाट पुजा अनुष्टान गरी भुमेस्थान स्थापना गरिएको हो ।

 

किरातीहरुले सो ठाउँलाई 'युक्रा साकेला भूमेथान तथा साँस्कृतिक सुप्तुलुङ्र' नामाकरण गरेका छन् । यो ठाउँ किराती सँस्कृति र आस्थाको आकर्षक तीर्थधाम बन्नेमा विश्स्त रहेको केन्द्रीय महासचिव मुक्ति राईले बताए । सिमसारको छेउ र जङ्गलको बीचमा स्थापित साकेलाथान र त्यसको वरीपरी साँस्कृतिक कार्यक्रम र साकेला सिली नाच्नको निम्ति ठुलो गोलाकार प्राङ्गणको निर्माण गरिएको छ।

 

सुप्तुलुङ (चुला घर) भने साकेलाथान प्रवेशद्धारको मुखैमा कृषि प्रयोजनको लागी निर्माण गरिएको घरभित्र स्थापना गरिएको छ । नेपाली अमेरिकन किरात राई समुदायको महत्वकॉक्षी योजनाको रूपमा रहेको साकेलाथान तथा सुप्तुलुङ निर्माणको सपना पूरा भएको अभियानका संयोजक तथा पूर्व अध्यक्ष विष्णु राईले बताए।

 

न्युयोर्कबाट आएका ७५ वर्षीय नक्छुङ पदमबहादुर राईले मुन्धुमी रिसिया गाँउदै र सिलीमोपा हरी राईको नेतृत्वको टोलीले साकेला सिली नाचेर विधीवत रुपमा पूजा अनुष्टान गरी साकेला थान स्थापना गरिएको हो ।

 

तीन चुलाको सन्दर्भमा थप प्रकाश पार्दै पूर्व अध्यक्ष तथा संयोजक राईले नेपाली अमेरिकन किरात राईहरुको निम्ति यो ऐतिहासिक परिघटना रहेको बताए । विभिन्न राई भाषी किराँती समुदायरले तीन चुलालाई सुप्तुलुङ, दाया हुईलुङ बोकोलुङजस्ता विभिन्न नामले पुकारे पनि आस्था, विश्वास र पुजा अनुष्टान विधी एउटै भएकोले बिवाद र दुविधा नरहेको राईको भनाई छ ।

 

किरात राईहरुको तीर्थ धामको रुपमा रहेको तीनचुला (सुप्तुलुङ) र साकेला भूमेथान स्थापनाको ऐतिहासिक उपलब्धीले अमेरिकी समाजमा हुर्किरहेका हाम्रा युवा पुस्ता र भविष्यका पिढीलाई आफ्नो मौलिक सँस्कृति र सभ्यतासँग व्यवहारिक रुपले परिचित गराउन र आस्था जगाउन महत्वपूर्ण भूमिका रहने केन्द्रीय अध्यक्ष जयकुमार राईले बताए ।

 

साकेलाथान र चुलाघर ९सुप्तुलुङ निर्माणमा अहोरात्र खटेका न्यु ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्णबहादुर राईले यो ऐतिहासिक काम सकुशल सम्पन्न गर्न सकिएकोमा आफुलाई अत्यन्तै हर्ष र गर्व लागेको बताए ।